आज २१० औं भानु जयन्ती गण्डकीमा सार्वजनिक बिदा

आज देश तथा विदेशका विभिन्न स्थानमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती  विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। साे अवसरमा गण्डकी प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम आयोजना गरिएको छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकको धारणा छ ।