नक्कली कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजना नक्कली कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

नक्कली कर्मचारी  चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइराला  हुन् ।

विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवं खोजतलास गरी  पक्राउ गरेको हो ।

सूचना अधिकारी डाँगीले निज कोइरालालाई हाल हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरेका छन् ।