सहसचिव शर्माले कारागारमा आत्मसमर्पण गरे

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् ।

कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।

‘उहाँ गत बुधबार कारागारमा उपस्थित हुनुभएको हो । लगत्तै सर्वोच्च अदालतमा पुनरावेदन दिनुभयो,’ कारागार स्रोतले  भन्यो, ‘बिगो र जरिवानावापतको रकम धरौटी राखेर मात्रै मुद्दामा पुनरावेदन गर्न पाइने व्यवस्था छ । उहाँले करिब ६ अर्ब रुपैयाँ धरौटी राख्न सक्नुभएन । थुनामा बसेर पुनरावेदन गर्नुभयो ।’

विशेष अदालतले ५ असार २०८० मा बहुचर्चित कर फर्स्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो ।

कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा दोषी ठहर भएका थिए ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगको कामकारबाहीबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै त्यसलाई तीन जना आरोपीबाट बिगो भराउने आदेश गरेको थियो ।

बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ परेको थियो । तोकिएको धरौटी बुझाउन नसक्ने अवस्था भएमा दोषी ठहर भएकाहरु थुनामै बसेर पुनरावेदन गर्न पाउँछन् । ठूलो रकम धरौटीबापत बुझाउनुपर्ने भएपछि शर्माले थुना रोजेका हुन् ।