डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । दुर्गम क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री संग्राम शार्दूल गुल्मको आयोजना तथा विभिन्न निकायसँगको समन्वयमा जगदुल्ला गाउँपालिका पाँच माझगाउँमा “निःशुल्क स्वास्थ्य शिविर–२०८३” सञ्चालन गरिने गुल्मपति हरीश शाहीले जानकारी दिए ।
उनका अनुसार शिविर आगामी जेठ दुई गते बिहान सात बजेदेखि अपराह्न पाँच बजेसम्म सञ्चालन हुनेछ । शिविरमा नेपाली सेना तथा जिल्ला अस्पताल दुनैका अनुभवी चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्नेछन् । शिविरमार्फत उच्च रक्तचाप, ग्यास्ट्रिक, दम, स्त्रीरोग तथा आँखा सम्बन्धी समस्याको परीक्षण गरिनुका साथै बिरामीलाई निःशुल्क औषधि वितरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।
गुल्मपति शाहीले दुर्गम हिमाली क्षेत्रका नागरिक सहज रूपमा स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने भएकाले गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताए । स्थानीयवासीले यस्ता स्वास्थ्य शिविरले उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरेका छन् । विशेषगरी नियमित स्वास्थ्य सेवा पुग्न कठिन हुने हिमाली बस्तीका नागरिकका लागि शिविर प्रभावकारी हुने अपेक्षा गरिएको छ।



कार्यविधि संवाददाता । २४ बैशाख २०८३, बिहीबार १४:०२ बजे