हुम्ला । कर्णाली प्रदेशमा झ्याल, भनसुन र पहुँचका आधारमा योजना छनोट हुने प्रवृत्तिलाई अन्त्य गर्न सरोकारवालाहरूले माग गरेका छन् । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले पहुँचका आधारमा आएका योजनाले प्राथमिकता पाउने गुनासो बारम्बार आउने गरेको बताए । अब यस्तो अभ्यासलाई निरुत्साहित गर्न आवश्यक रहेको उनकाे भनाइ छ ।
उनले आवश्यकतामा आधारित योजनामात्रै दिगो र प्रभावकारी हुने उल्लेख गर्दै बस्तीस्तरबाट आएका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। विगतमा योजना खरिद–बिक्री हुने गुनासासमेत आएको स्मरण गर्दै उहाँले पारदर्शी प्रणालीमार्फत योजना छनोट गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सुशासन र पारदर्शिता कायम गर्न आयोजना बैंक प्रणाली प्रभावकारी माध्यम हुन सक्ने बताए । तर, प्रणाली निर्माण मात्र पर्याप्त नभई यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनकाे जोड दिए । साथै योजना प्रविष्टि प्रक्रिया सरल र सहज बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले एकद्वार प्रणालीमार्फत योजना छनोट र कार्यान्वयनलाई व्यवस्थित गर्न आयोजना बैंक अवधारणा ल्याइएको जानकारी दिए । उनका अनुसार आयोजना बैंकमा समावेश भएको योजना पाँच वर्षसम्म कार्यान्वयनमा जाने भएकाले यसको दीर्घकालीन महत्त्व रहेको छ ।अब बस्तीस्तरबाट आएका योजनालाई जिल्ला स्तरीय समितिबाट छनोट गरी प्रदेश आयोजना बैंकमा सिफारिस गरिने व्यवस्था गरिएको छ । यसबाट योजना छनोटमा देखिएका विकृति र विसंगति न्यूनीकरण हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत जिल्लास्थित प्रदेश मातहतका कार्यालयलाई आयोजना बैंक व्यवस्थापन प्रणाली तथा योजना प्रविष्टि प्रक्रियाबारे जानकारी गराइएको जनाइएको छ ।



कार्यविधि संवाददाता । १९ चैत्र २०८२, बिहीबार ११:४९ बजे