सुर्खेतको वीरेन्द्रनगरमा महिला उद्यमीहरूले आगामी नगर बजेटमा महिला उद्यम विकास, लघुघरेलु उद्योग, कृषि उत्पादन र सहकारीमार्फत आर्थिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकता दिन माग गरेका छन्।
सामाजिक उद्यमी महिला सञ्जाल नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उद्यमी महिलाहरूले उत्पादनको बजारीकरण, कृषि सामग्री, संकलन केन्द्र, आवश्यक उपकरण र पूर्वाधारको अभाव रहेको भन्दै नगरपालिकासँग थप सहयोग माग गरे।
सहकारीका प्रतिनिधिहरूले दूध संकलन केन्द्र भवन, रासायनिक मल, मिनी टिलर, नेतृत्व विकास तालिम तथा दुनाटपरी उद्योगका लागि उपकरण आवश्यक रहेको बताए। तरकारी उत्पादन बढे पनि संकलन केन्द्र नहुँदा किसान आफैं बजार खोज्न बाध्य भएको उनीहरूको भनाइ छ।
नगर प्रमुख मोहनमाया ढकालले प्रक्रियाअनुसार योजना तथा प्रस्ताव आए महिला उद्यमी लक्षित कार्यक्रममा बजेट विनियोजन गर्न नगरपालिका तयार रहेको बताइन्। उपप्रमुख नीलकण्ठ खनालले सहयोगमा निर्भर कार्यक्रमभन्दा दिगो उद्यम विकासमा जोड दिनुपर्ने बताए।
कृषि शाखा प्रमुख हेमराज केसीले सहकारीमार्फत बजारीकरणको अभ्यास प्रभावकारी बन्दै गएको उल्लेख गर्दै व्यवसायिक किसान पहिचान गरी थप कार्यक्रम सञ्चालन गरिने बताए। महिला उद्यमीहरूले भने दिगो व्यवसाय विकासका लागि थप लगानी र सहकार्य आवश्यक रहेको बताएका छन्।


कार्यविधि संवाददाता । १ असार २०८३, सोमबार २०:२३ बजे