दैलेख । निर्माण व्यवसायीको लापर्बाहीका कारण महत्वपूर्ण सडक निर्माण योजना अलपत्र परेको छ । ताराघाट–खरीगैरा–गैँडावाज रानीवन–टाकुरी हुँदै कासिकाँध जोड्ने सडक समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासी समस्यामा परेका छन् । पूर्वाधार विकास कार्यालय दैलेखले २०७९ भदौमा पन्त आकृति जेभी, गुल्मीसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको अवधिमा काम पूरा नभएपछि थप एक वर्ष म्याद बढाइएको छ । सम्झौताअनुसार १९ किलोमिटर सडक कटिङ तथा चौडाइ विस्तार र छ किलोमिटर सडक ढलान तथा कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो। निर्माण कार्य ढिलो हुँदा सडक लामो समयदेखि अधुरो अवस्थामा छ । सडक निर्माण नहुँदा स्थानीयवासीले हिउँदमा धुलो र बर्खामा हिलोको समस्या भोगिरहेका छन्, जसले दैनिक जीवन कष्टकर बनाएको छ ।
पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख इन्जिनियर प्रवीण कार्कीका अनुसार निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन । कम्पनीले उपकरण अभाव देखाउँदै काम रोकिएको जानकारी दिएको र छिट्टै पुनः निर्माण कार्य सुचारु गर्ने प्रतिबद्धता जनाएको उनले बताए । हालसम्म करिब ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ भने हालको सम्झौता अवधि २०८३ भदौ ८ गतेसम्म कायम छ । तोकिएको समयभित्र काम नसकिए प्रगतिका आधारमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । स्था
नीयवासीका अनुसार निर्माण ढिलाइका कारण आवतजावतमा कठिनाइ भइरहेको छ । महाबु गाउँपालिका–२ का दीपक थापाले सवारीसाधन तथा पैदल यात्रु दुवैलाई समस्या भएको बताए । बर्खामा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा दैनिक जीवन प्रभावित भएको उनकाे गुनासो छ । त्यस्तै, वडा अध्यक्ष प्रकाशराज थापाले निर्माण कम्पनीले ढिलासुस्ती मात्र नभई सम्बन्धित निकायको निर्देशनसमेत बेवास्ता गरेको आरोप लगाउनुभयो। उहाँका अनुसार कम्पनीले केही स्थानमा देखावटी रूपमा मात्र काम गरेर स्थानीय सरकारलाई झुक्याउने प्रयास गरिरहेको छ।



कार्यविधि संवाददाता । २४ चैत्र २०८२, मंगलवार ११:३१ बजे