खानेपानी योजना सुरु, गाउँमा बसाइँसराइ रोकिदै

सुर्खेत ।  वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चा गाउँमा अब पानी ल्याउने तयारी भएपछि स्थानीयमा आशा जागेको छ ।  गाउँमा खानेपानी सुविधा विस्तार भएपछि बसाइँसराइको क्रम रोकिने विश्वास गरिएको छ । गाउँबाट करिब तीन किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी ल्याइँदै छ । ट्याङ्की निर्माण लगायतका काम तीव्र रूपमा भइरहेका छन् र आगामी साउन महिनादेखि पानी वितरण गर्ने लक्ष्य राखिएको छ । बेलायतका पूर्वगोरखा सैनिकको संस्था कादुरी एग्रिकल्चरल एसोसिएसनको सहयोगमा खारगाडीको तुसारेपानी मुहानबाट पानी ल्याउने योजना अघि बढाइएको हो ।  यसअघि संस्थाका निर्देशक डा. नारायण गुरुङसहितको टोलीले स्थलगत अवलोकनसमेत गरेको थियो ।

स्थानीय तपेन्द्रबहादुर बुढाक्षेत्रीका अनुसार हाल चारवटा ट्याङ्की निर्माणको काम भइरहेको छ । मुहानबाट पानी ‘डबल लिफ्ट’ प्रविधिबाट गाउँमा ल्याइनेछ ।  यसअन्तर्गत २५ हजार लिटर क्षमताका दुई ट्याङ्कीमा पानी संकलन गरिनेछ भने गाउँको अग्लो स्थानमा ५० हजार लिटरको एक र २५ हजार लिटरको अर्को ट्याङ्की निर्माण गरिँदै छ । करिब पाँच करोड रुपैयाँ लागतमा सञ्चालन भइरहेको यो योजना असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य छ । यसअघि गाउँमा पानीको समस्या समाधानका लागि डिप बोरिङ गरिएको थियो । करिब ९० मिटर गहिराइसम्म खनिए पनि पर्याप्त पानी नआएपछि स्थानीयले नयाँ मुहान खोज्ने प्रयास गरेका थिए । त्यसक्रममा तुसारेपानी खोलाबाट पानी ल्याउने विकल्प तय गरिएको हो । मुहानसम्म पुग्ने बाटो नहुँदा कच्ची सडक निर्माणका लागि गाउँपालिकासँग आग्रह गरिएको छ ।

खानेपानीको चरम अभावका कारण पछिल्लो पाँच वर्षमा ५० भन्दा बढी घरधुरी गाउँ छोडेर अन्यत्र बसाइँ सरेका छन् । त्रिपाला, खेले लगायतका बस्तीबाट मात्रै करिब ५० घरधुरी विस्थापित भएका छन् । अहिले पनि रेक्चामा ६०–६५ घरधुरी बसोबास गरिरहेका छन्, जहाँ पानीको अभावले दैनिक जीवन निकै कष्टकर बनेको छ ।  हाल गाउँमा एउटा मात्र इनार रहेको छ, जसको पानी खडेरीका बेला पालैपालो प्रयोग गर्नुपर्छ। दैनिक करिब ६० लिटर पानी बाँड्नुपर्ने अवस्था रहेको छ। स्थानीय बुढाक्षेत्री भन्छन् गाउँमा पानी आएपछि अब बसाइँ सर्ने क्रम रोकिनेछ भन्ने आशा गरेका छौँ ।