हुम्ला । बाजुरासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका नागरिकले एक वर्षपछि नुन पाएका छन् । ढुवानीमा ढिलाइ भएपछि लामो समयसम्म अभाव झेलेका स्थानीयले आइतबारदेखि नुन खरिद गर्न पाएका हुन् । नुन ढुवानीको जिम्मा लिएको सप्लायर्सले ढिलो गरी गाउँपालिका केन्द्रमा नुन पु¥याएपछि जनप्रतिनिधिसँगको समन्वयमा वितरण सुरु गरिएको हो ।
नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, हुम्ला शाखाका प्रमुख राजबहादुर लामाका अनुसार ढुवानी अनुदानअन्तर्गतको नुन आइपुगेपछि बिदाको दिन भए पनि बिक्रीवितरण गरिएको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकभित्र ढुवानी हुनुपर्ने नुन ढिलो गरी आइपुगेको हो। यस वर्षका लागि ४७९ क्विन्टल नुनको कोटा निर्धारण गरिएकोमा हालसम्म चार सय ३९ क्विन्टल मात्र ढुवानी भएर आएको छ ।
वडागत रूपमा वितरण गरिएको नुनमध्ये वडा नं. १ र २ लाई ७०/७० क्विन्टल, वडा नं. ३ लाई एक सय १० क्विन्टल, वडा नं. ४ लाई ९० क्विन्टल र वडा नं. ५ लाई ७० क्विन्टल प्रदान गरिएको छ । साथै प्रहरी चौकी र बजार क्षेत्रका लागि २१ क्विन्टल नुन छुट्याइएको छ । यसैबीच, ताँजाकोटको कोटामध्ये ४० क्विन्टल नुन जनसंख्या बढी भएको अदानचुली गाउँपालिकामा पठाइएको पनि जनाइएको छ ।



कार्यविधि संवाददाता । ७ बैशाख २०८३, सोमबार ११:५३ बजे