हुम्ला । सर्केगार्ड गाउँपालिका–६ मा रहेको छ्यागी खोला लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । करिब २३ महिनाको निर्माणपछि आयोजना सम्पन्न भई छ्यागी गाउँका उपभोक्तालाई विद्युत आपूर्ति सुरु गरिएको हो । गाउँ नजिकैको छ्यागी खोलाबाट २६ किलोवाट विद्युत उत्पादन भइरहेको छ । सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार यसअघि २० किलोवाट उत्पादन हुने अनुमान गरिए पनि निर्माण सम्पन्न भएपछि अपेक्षाभन्दा बढी विद्युत उत्पादन हुन थालेको हो ।
यस आयोजनाबाट विद्युत आपूर्ति सुरु भएसँगै छ्यागी गाउँका स्थानीयले पहिलो पटक बिजुली बाल्न पाएका छन् । कुल दुई करोड ३७ लाख ३५ हजार ५ सय ३० रुपैयाँ लागतमा निर्माण गरिएको आयोजनामा गाउँपालिकाको २३ लाख ७३ हजार ५ सय ५३ रुपैयाँ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको दुई करोड १३ लाख ६१ हजार ९ सय ७७ रुपैयाँ लगानी रहेको छ । साझेदारीमा निर्माण गरिएको यस आयोजनाबाट छ्यागी गाउँका १ सय ३० घरधुरी लाभान्वित भएका छन् ।
साथै, नेपाल टेलिकमको फोरजी टावर सञ्चालनका लागि पनि विद्युत आपूर्ति गर्ने तयारी भइरहेको छ । लघुजलविद्युत आयोजनासँगै गाउँमा खम्बा गाड्ने, तार तान्ने र घरघरमा वायरिङ गर्ने काम पूरा भई विद्युत आपूर्ति सुरु भएपछि सिङ्गो गाउँ झिलिमिली बनेको वडा अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । गाउँपालिका अध्यक्ष रोकायाले औपचारिक कार्यक्रममार्फत आयोजनाको उद्घाटन गर्नुभएको थियो ।



कार्यविधि संवाददाता । २५ चैत्र २०८२, बुधबार १२:२८ बजे