असिनाले नष्ट गर्‍यो बेमौसमी तरकारी, किसान संकटमा

सल्यान ।  सल्यानमा परेको विनाशकारी असिनापानीपछि व्यवसायिक तरकारी खेतीमा ठूलो क्षति पुगेको छ । उत्पादन नै नहुने अवस्था आएपछि किसानहरू बाध्य भएर खेतमै लगाइएका तरकारीका बोट उखेलेर फाल्न थालेका छन् । विशेषगरी बेमौसमी तरकारी खेतीका लागि परिचित कपुरकोट गाउँपालिका क्षेत्रका किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताएका छन्। कपुरकोट गाउँपालिका पाँचका किसान तथा पूर्व वडा अध्यक्ष यमकुमार बस्नेत ले करिब साढे दुई रोपनी क्षेत्रफलमा लगाइएका २१ सय टमाटरका बोट उखेलेर फालेका छन् । उनका अनुसार वैशाख २३ गते परेको असिनापानीले टमाटर खेती पूर्ण रूपमा नष्ट गरेको हो ।

बस्नेतले फल लाग्ने समयमा असिनाले बोटमा गम्भीर क्षति पुर्‍याएको बताए । “असिनाले बोटका डाँठ कमजोर बनायो, छोए पनि भाँचिने अवस्था भयो । फलमा दाग, चोट र कुहिने समस्या देखिएपछि बजारमा बिक्री गर्न नमिल्ने अवस्था आयो,” उनले भने । घरायसी प्रयोगका लागि केही बोट राखेर बाँकी सबै हटाउनुपरेको उनकाे  भनाइ छ । असिनापछि बोटमा विभिन्न रोगसमेत देखिन थालेको किसानहरूले बताएका छन् । पात सुकेर झर्ने, डाँठ कुहिने तथा फलमा कालो दाग देखिने समस्या बढेपछि उत्पादनको सम्भावना समाप्त भएको उनीहरूको भनाइ छ ।

त्यस्तै कपुरकोट गाउँपालिका पाँचकै किसान गोविन्द सार्की ले पनि करिब १२ सय टमाटरका बोट उखेलेर फालेका छन् । लगानी समेत नउठ्ने अवस्था देखिएपछि खेती नष्ट गर्न बाध्य भएको उनले बताए । यसैबीच कपुरकोट गाउँपालिका छ रयाँजे खोलाका किसानहरूले व्यवसायिक रूपमा लगाएको काउली खेतीमा पनि ठूलो क्षति पुगेको बताएका छन् । स्थानीय किसान झरणा केसी बोहोरा ले करिब आठ हजार काउलीका बोट काटेर तथा उखेलेर फाल्नुपरेको जानकारी दिए । उनका अनुसार दुई पटक परेको असिनाले काउलीमा गम्भीर असर पुर्‍याएको हो । “काउलीको टाउकामा दाग, प्वाल र कालोपन देखियो । त्यसपछि कुहिने र गल्ने समस्या बढेपछि बजारमा बिक्री गर्न नसकिने अवस्था बन्यो,” उनले भने ।

झरणाका अनुसार गाउँका १७ घरधुरीमध्ये अधिकांश किसानले खेतमै काउली काटेर कुहाउन बाध्य भएका छन् भने केहीले मलका रूपमा प्रयोग गर्न फालेका छन् । लामो मेहनतपछि राम्रो उत्पादन हुने आशा गरिएको खेती केही मिनेटको असिनाले नष्ट गरेपछि किसान निराश बनेका छन् । किसानहरूले कृषि प्राविधिकहरूले क्षतिको विवरण संकलन तथा अनुगमन गरे पनि हालसम्म कुनै राहत वा क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । उनीहरूले स्थानीय तथा प्रदेश सरकारसँग तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

स्थानीयका अनुसार यस वर्ष कपुरकोटका सबै वडामा बेमौसमी तरकारी खेतीमा व्यापक क्षति पुगेको छ । टमाटर, काउली, बन्दा, खुर्सानी, सिमी लगायतका बाली असिनापानीबाट प्रभावित भएका छन् । यसैगरी त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका, बागचौर नगरपालिका तथा सिद्धकुमाख गाउँपालिका लगायत क्षेत्रमा पनि असिनापानीले व्यवसायिक तरकारी तथा फलफूल खेतीमा ठूलो नोक्सानी पुर्‍याएको किसानहरूले बताएका छन् ।