हुम्लाका पाँच पुल सञ्चालनमा

हुम्ला ।  कर्णाली करिडोर अन्तर्गत पर्ने सिमकोट–हिल्सा सडक खण्डमा तीन वटा पक्की पुल र दुई वटा बेलिब्रिज निर्माण सम्पन्न भएपछि यातायात सेवा थप सहज बनेको छ । कर्णाली नदी तथा विभिन्न खोलामाथि पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या उल्लेखनीय रूपमा घटेको छ । सिमकोट देखि हिल्सा जोड्ने सडक खण्ड कर्णाली प्रदेशकै महत्वपूर्ण रणनीतिक सडकका रूपमा लिइन्छ । विशेषगरी चीनसँगको सीमावर्ती क्षेत्रसम्म पहुँच विस्तार गर्न तथा स्थानीय जनजीवनलाई सहज बनाउन यो सडकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

हिल्सा–सिमकोट सडक योजना प्रमुख बेलबहादुर नेपाली का अनुसार उक्त सडक खण्डमा निर्माण गरिएका पाँच वटा पुलमध्ये दुई वटा पक्की पुल चालु आर्थिक वर्षमै सम्पन्न भई सञ्चालनमा आएका हुन् । यस वर्ष सम्पन्न भएका पुलमध्ये सिमकोट र नाम्खा गाउँपालिकाको सीमामा रहेको हेक्पा खोलाको पुल तथा नाम्खा गाउँपालिकास्थित ताक्रु खोलाको पुल मुख्य रहेका छन् । यसअघि २०७३ सालमा तत्कालीन जिल्ला विकास समितिको कार्यालयले हिल्सामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरेको थियो। त्यस्तै, करिब छ वर्षअघि तुम्कोट क्षेत्रमा कर्णाली नदीमाथि अर्को बेलिब्रिज निर्माण गरिएको थियो। उक्त बेलिब्रिज हिल्सा–सिमकोट सडक योजनामार्फत निर्माण गरिएको हो ।

त्यसैगरी एक वर्षअघि सल्ली खोला मा पक्की पुल निर्माण सम्पन्न गरिएको थियो । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ खोला तथा वर्षायाममा बाढीपहिरोको जोखिम रहने ढाँडकेमी क्षेत्रमा दुई वटा कल्भर्टसमेत निर्माण गरिएका छन् । ती संरचना सञ्चालनमा आएपछि वर्षायाममा सडक अवरुद्ध हुने समस्या कम भएको स्थानीयवासी बताउँछन् । योजना प्रमुख नेपालीका अनुसार पुल, बेलिब्रिज र कल्भर्ट सञ्चालनमा आएसँगै सिमकोट–हिल्सा सडक खण्डमा सवारी सञ्चालन थप सहज र सुरक्षित भएको छ । खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ।

यद्यपि, सिमकोट–हिल्सा सडकको ९५ किलोमिटर खण्डअन्तर्गत नाम्खा गाउँपालिका चार स्थित याङ्गार खोलामा पुल निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन । उक्त पुल निर्माण सुस्त गतिमा भइरहेको योजना कार्यालयले जनाएको छ । यसैबीच, सिमकोटबाट इलिङ काँध हुँदै तुम्कोटसम्म र तुम्कोटदेखि हिल्सासम्म सडक चौडाइ विस्तार कार्य क्रमशः अघि बढाइएको छ । सिमकोट–इलिङ काँध तथा तुम्कोट–हिल्सा खण्डको सडक चौडाइ विस्तार कार्य सम्पन्न भइसकेको छ भने इलिङ काँधदेखि तुम्कोटसम्मको खण्ड विस्तार गर्न आगामी आर्थिक वर्षमा टेन्डर आह्वान गर्ने तयारी भइरहेको योजना कार्यालयले जनाएको छ । स्थानीयवासीका अनुसार सडक र पुल निर्माणसँगै दुर्गम हुम्लामा यातायात पहुँच विस्तार हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन देखिन थालेको छ ।