जुम्ला । पहिलो पटक प्याब्सन को आयोजनामा ‘प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता–२०८२’ सञ्चालन हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत चैत २६ गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो । प्याब्सन जुम्लाका अध्यक्ष टासी दोन्डुप लामा का अनुसार प्रतियोगितामा जिल्लाका १७ वटा टिम सहभागी हुनेछन्, जसमा छात्रतर्फ १२ र छात्रातर्फ ५ टिम रहनेछन् । प्रतियोगितामा सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ भने विजेता र उपविजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । टिम दर्ता शुल्क प्रत्येक विद्यालयका लागि पाँच हजार रुपैयाँ तोकिएको छ ।
प्राथमिक तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगिताले बालबालिकामा खेलप्रतिको रुचि र क्षमता विकास गर्ने उद्देश्य राखेको छ । साथै, खेलमार्फत विद्यार्थीमा शारीरिक दक्षता, अनुशासन, टीमवर्क, नेतृत्व क्षमता तथा रणनीतिक सोचको विकास हुने अपेक्षा गरिएको छ । प्रतियोगिता सफल बनाउन होटल कान्जिरोवा, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, देउती स्टेसनरी र वेदान्त पब्लिकेसन लगायत संस्थाहरूले सहयोग गर्ने जनाइएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता चैत २८ गते समापन हुनेछ ।



कार्यविधि संवाददाता । २५ चैत्र २०८२, बुधबार १३:१० बजे