सुर्खेत । फेक्ट नेपाल र प्रदेश अस्पताल सुर्खेतको संयुक्त आयोजना तथा नबिल बैंकको सहकार्यमा चैत २७ गतेदेखि २९ गतेसम्म प्रदेश अस्पतालमा तीन दिने निःशुल्क जलन उपचार शिविर सञ्चालन हुने भएको छ । शिविरमा कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जनसहित विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको परीक्षण तथा आवश्यक शल्यक्रिया गर्नेछ । शिविरका लागि बिरामी छनोट गर्ने कार्य चैत २३ गतेदेखि २६ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहहरूमा सम्पन्न गरिएको थियो ।
छनोट भएका बिरामीहरूलाई अब तीन दिनसम्म विशेषज्ञ सेवामार्फत उपचार प्रदान गरिनेछ । कीर्तिपुर अस्पतालका कैलाश खाकी श्रेष्ठका अनुसार शिविरमा विशेषगरी आगोले पोलेर शरीरका अंग खुम्चिएका, छाला टाँसिएका वा चलायमानता गुमेका जटिल बिरामीहरूलाई प्राथमिकता दिइनेछ । साथै ओठ तथा तालु चिरिएका (खुँडे) व्यक्तिहरू, पहिले शल्यक्रिया गर्दा पनि समस्या समाधान नभएका तथा गिजा र तालुमा प्वाल भएका बिरामीहरूलाई पनि उपचारको प्राथमिकता दिइनेछ ।
आगलागीका कारण शरीरका अंग आपसमा टाँसिएका जटिल अवस्थाका बिरामीहरू पनि शिविरको प्राथमिकतामा रहनेछन् । शिविरमा उपचार सम्भव नभएका अति जटिल बिरामीहरूलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिनेछ, जहाँ उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
शिविरलाई प्रभावकारी बनाउन चैत २३ देखि २६ गतेसम्म सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालीकोट र जुम्लाका १८ भन्दा बढी स्वास्थ्य संस्था र अस्पतालहरूमा स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको थियो । रुकुमको आठबिसकोटदेखि जुम्लाको सिंजा र सुर्खेतको पञ्चपुरीदेखि सिम्ता सम्मका ग्रामीण क्षेत्रबाट शल्यक्रिया आवश्यक पर्ने बिरामीहरू पहिचान गरिएको छ । समयमै उपचार नपाउँदा कष्टकर जीवन बिताइरहेका विपन्न नागरिकका लागि यो शिविर ठूलो अवसर बन्ने अपेक्षा गरिएको छ ।



कार्यविधि संवाददाता । २७ चैत्र २०८२, शुक्रबार ११:०६ बजे