दैलखेको चामुण्डाबिन्द्रासैनी नगरपालिका ५ बस्तकोट स्थित जनता माध्यमिक विद्यालयका विज्ञान शिक्षक विशाल विक्रम सावदले राजीनामा दिएका छन् । विद्यार्थीलाई जबर्जस्ती पास गराउन दबाब आएको आरोप लगाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानाध्यापकलाई बुझाएको हस्तलिखित राजीनामा पत्रमा सावदले आफूलाई परीक्षा मूल्यांकनमा निष्पक्ष रहँदा पालिकास्तरबाट मानसिक दबाब र अपमान सहनु परेको उल्लेख गरेका छन् । “म अभाव सहन्छु, तनाव होइन,” भन्ने भावुक वाक्य लेख्दै उनले नैतिकताको आधारमा पद त्याग गर्ने निर्णय लिएको बताएका छन् ।
संघीय अनुदान अर्न्तगत करार सेवामा कार्यरत सावद २०८० मंसिरदेखि विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनले कक्षा ८ को परीक्षामा कमजोर प्रदर्शन गरेका विद्यार्थीलाई पनि पास गराउन दबाब आएको दाबी गरेका छन् । पत्रमा उनले परीक्षा प्रणालीमा हस्तक्षेप हुँदा शिक्षकको पेशागत स्वाभिमानमाथि चोट पुगेको उल्लेख गरेका छन् ।
घटनाले स्थानीय शिक्षा प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ । यदि शिक्षकले लगाएको आरोप सत्य प्रमाणित भए यसले विद्यालयको शैक्षिक गुणस्तर, मूल्यांकन प्रणाली र विद्यार्थीको वास्तविक सिकाइ प्रक्रियामाथि प्रत्यक्ष असर पर्ने देखिन्छ ।
शिक्षा क्षेत्रमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप बढ्दै गएको गुनासोबीच आएको यो घटनाले करार शिक्षकको असुरक्षा र दबाबको अवस्था फेरि सार्वजनिक बहसको विषय बनेको छ ।


कार्यविधि संवाददाता । १ जेष्ठ २०८३, शुक्रबार ०८:५८ बजे