रुकुम पश्चिम । त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा खेतीबाट उल्लेखनीय आम्दानी भएको छ । पालिकाभरका किसानहरूले अदुवा बिक्रीमार्फत करिब ५ करोड ५६ लाख ५० हजार रुपैयाँ भित्र्याएका छन्, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाको कृषि शाखाका प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष त्रिवेणीभर १५ हजार ९ सय क्विन्टल अदुवा उत्पादन भएको थियो । उक्त उत्पादन २ हजार ६ सय ५० किसान परिवारबाट आएको हो, जसले अदुवा खेतीलाई मुख्य आम्दानीको स्रोतका रूपमा अंगालेका छन् ।
कृषि शाखाका अनुसार अदुवा खेती विस्तार हुँदै गएको छ । हाल पालिकाभर करिब ५ हजार तिन सय रोपनी क्षेत्रफलमा अदुवा खेती भइरहेको छ । औसतमा प्रत्येक किसानले करिब दुई रोपनी जमिनमा अदुवा उत्पादन गर्दै आएका छन् भने एक रोपनी जमिनबाट झण्डै तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । यस वर्ष किसानहरूले गाउँमै प्रतिक्विन्टल ३ हजार पाँच सय रुपैयाँको दरमा अदुवा बिक्री गरेका छन् । व्यापारीहरू स्वयं गाउँमै पुगेर अदुवा खरिद गर्ने गरेका कारण किसानहरूलाई बजारको सहज पहुँच मिलेको कृषि शाखा प्रमुख कार्कीले जानकारी दिए ।
त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका किसान नरे खड्काले अदुवा खेतीबाट यस वर्ष करिब एक लाख रुपैयाँ आम्दानी गरेको बताए । विगत २२ वर्षदेखि निरन्तर अदुवा खेती गर्दै आएका उनका अनुसार अदुवा खेतीले परिवारको जीविकोपार्जनमा ठूलो सहयोग पुगेको छ । यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल अदुवा आगामी सिजनका लागि बीउका रूपमा राखिएको पनि उनले जानकारी दिए । स्थानीय तहले अदुवा खेतीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
प्राविधिक सहयोग, उन्नत बीउ, तालिम तथा बजार व्यवस्थापनमा ध्यान दिइएको कारण अदुवा उत्पादनमा वृद्धि हुँदै गएको कृषि शाखाले जनाएको छ । अदुवा खेतीको विस्तारसँगै त्रिवेणी गाउँपालिका कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ भने ग्रामीण क्षेत्रका किसानहरूको आयस्तर सुधार हुँदै गएको देखिन्छ । यसले कृषिलाई व्यवसायिकरणतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलेको स्थानीय सरोकारवालाहरूको भनाइ छ ।



कार्यविधि संवाददाता । २७ चैत्र २०८२, शुक्रबार १५:४६ बजे