सुर्खेत । कर्णाली प्रदेश फुटबल संघको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा कर्णाली प्रदेशस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३ यही जेठ १५ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता जेठ २१ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने आयोजकले जनाएको छ । कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालका अनुसार प्रदेशमा खेलकुद विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेशस्तरीय मेयर कप आयोजना गर्न लागिएको हो । प्रतियोगिताको उद्घाटन जेठ १५ गते दिउँसो २ बजे गरिने कार्यक्रम तय भएको छ ।
प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न १३ पालिकाका टोलीहरूको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, सल्यानको वनगाड कुपिण्डे नगरपालिका, कालिकोट जिल्ला, रुकुम पश्चिम जिल्ला, चन्दननाथ नगरपालिका (जुम्ला), भेरी नगरपालिका (जाजरकोट), खार्पुनाथ गाउँपालिका (हुम्ला), सिमकोट गाउँपालिका (हुम्ला) तथा सिम्ता गाउँपालिका (सुर्खेत) रहेका छन्। प्रतियोगिताको विजेता टोलीले रु चार लाख तथा उपविजेताले रु दुई लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सात विधामा जनही रु १५ हजारसहित “बेस्ट अवार्ड” प्रदान गरिनेछ। प्रत्येक खेलको “म्यान अफ द म्याच” लाई रु दुई हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताभर उत्कृष्ट अनुशासन प्रदर्शन गर्ने टोलीलाई पहिलो पटक रु १० हजारसहित विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता लगातार सात दिनसम्म सञ्चालन हुनेछ। वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगिताका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ भने म्याक्स टाइगर इनर्जी ड्रिङ्कबाट रु एक लाख आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। स्थानीय व्यापारी तथा व्यवसायीहरूबाट समेत सहयोग अपेक्षा गरिएको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीबाट रु १० हजार टिम दर्ता शुल्क लिइने व्यवस्था गरिएको छ । कर्णाली प्रदेश फुटबल संघका महासचिव मदन बुढाथापाले पहिलो संस्करणको प्रतियोगितालाई भव्य र सफल बनाउन सबै सरोकारवाला निकाय, खेलप्रेमी तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको बताउँदै प्रतियोगिताले कर्णालीका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्नुका साथै प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।



कार्यविधि संवाददाता । १४ जेष्ठ २०८३, बिहीबार १७:३८ बजे