खानेपानी संकट, एक सय ५० घरधुरी प्रभावित

सल्यान ।  शारदा नगरपालिका–६ का सापमारा, ठुलागैरा, टाकुरा र गोगनपानी क्षेत्रमा खानेपानीको चरम अभाव देखिएको छ । मुलाखोला लिफ्ट खानेपानी आयोजनाको मोटर बिग्रिएपछि करिब १ सय ५० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । स्थानीयवासीका अनुसार बिहानैदेखि पानीका लागि लामो लाइन बस्नुपर्ने अवस्था भए पनि आवश्यक मात्रामा पानी उपलब्ध हुन सकेको छैन । सापमाराकी शशिला परियारले पानी अभावका कारण दैनिक जीवन निकै कष्टकर बनेको बताइन् । म मुटुरोगी हुँ, तर पानीकै लागि बिहानै उठेर टाढासम्म जानुपर्छ, उनले भनिन् ।

त्यस्तै, पिमा रानाले खानेपानी अभावकै कारण समयमै खाना पकाउन नसकिएको र बालबालिकालाई विद्यालय पठाउनसमेत समस्या भइरहेको बताइन् । पानीकै लागि धेरै समय खर्च गर्नुपर्छ, अरू काम गर्न भ्याइँदैन, उनको भनाइ छ । स्थानीयवासीले तत्काल वैकल्पिक व्यवस्था गरी खानेपानी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । २०७९ सालमा करिब एक करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मुलाखोला–ठुलापोखरा लिफ्ट खानेपानी आयोजना गत पुस महिनादेखि अवरुद्ध छ ।

उपभोक्ता समितिका अध्यक्ष डम्बर रोकाका अनुसार मोटर बिग्रिएपछि नयाँ मोटर जडान गरिए पनि ट्याङ्कीसम्म पानी नपुग्ने प्राविधिक समस्या देखिएको छ । उनले समितिसँग पर्याप्त बजेट अभाव रहेको र नयाँ उपकरणले अपेक्षित रूपमा काम नगरेको बताए । स्थानीय सरकारले समस्या समाधान गर्ने आश्वासन दिए पनि हालसम्म ठोस प्रगति नभएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।