रुकुमपश्चिम । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले योजनाहरू आवश्यकताका आधारमा प्राथमिकतामा राख्नुपर्ने बताइन् । रुकुमपश्चिम र जाजरकोट जिल्लामा प्रदेश सरकार तथा अन्य निकायबाट सञ्चालित योजनाको स्थलगत अनुगमनका क्रममा उनले यस्तो सुझाव दिइन् । मन्त्री बुढाका अनुसार अब मन्त्रालय योजना निर्माणको चरणमा रहेको हुँदा अत्यावश्यक योजनालाई उच्च प्राथमिकता दिइनेछ । विगतमा सुरु भई पूरा हुन नसकेका योजनालाई समेत प्राथमिकतामा राखी सम्पन्न गर्न सरकार लागिपरेको उनले स्पष्ट पारिन् साथै, विकास आयोजना गुणस्तरीय, समयमै सम्पन्न र दीगो हुनुपर्नेमा उनले जाेड दिएकी छन् ।
आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको सन्दर्भमा उनले जनताका वास्तविक समस्यामात्रै योजना बैङ्कमा समावेश गर्नुपर्ने बताइन् । प्राथमिकताका आधारमा छनोट गरिएका योजनाबाट लक्षित समुदायले प्रत्यक्ष लाभ लिन सक्ने र कार्यान्वयन पनि प्रभावकारी हुने भएकाले वडा तहदेखि नै सजगता अपनाउन आग्रह गरिन् । उनले विकासमा अपनत्व नभएसम्म अपेक्षित प्रतिफल नआउने भन्दै उपभोक्ता समिति र सरोकारवाला निकायलाई दीर्घकालीन सोचका साथ काम गर्न सुझाव दिइन् ।
अनुगमनका क्रममा मन्त्री बुढाले सानीभेरी गाउँपालिका (वडा नं. १, ३, ९) र मुसिकोट नगरपालिका (वडा नं. १, १४) का विभिन्न खानेपानी, सिँचाइ, तटबन्धन, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी योजनाहरू अवलोकन गरेकी छन् । युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित सानीभेरी गाउँपालिका–१, चाइनाबगरस्थित किदरुख–साइरावन–चाइनाबगर खानेपानी योजना तथा मुसिकोट नगरपालिका–१४ को सुवाखेला–कुमालगाउँ खानेपानी योजना पनि उनले निरीक्षण गरन् । यी योजनामार्फत चाइनाबगर क्षेत्रका ८० घरधुरीमा ‘एक घर एक धारा’ सुविधा पुगेको छ भने चार सार्वजनिक स्थानमा पानी शुद्धीकरणको व्यवस्था गरिएको छ । साथै, मुसिकोट–१४ का ६० घरधुरी पनि सुरक्षित खानेपानी सेवाबाट लाभान्वित भएका छन्।



कार्यविधि संवाददाता । २५ चैत्र २०८२, बुधबार ११:३२ बजे