हिंसा र यौनजन्य दुर्व्यवहार रोकथाममा सरोकारवालाको ऐक्यबद्धता

सुर्खेत ।  कार्यस्थलमा हुने हिंसा र यौनजन्य दुर्व्यवहार न्यूनीकरण गर्न कर्णालीका सरोकारवालाहरूले एकताबद्ध प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको आयोजना तथा ‘सशक्त महिला, समृद्ध नेपाल’ (ईडब्लुपीएन) को समन्वयमा  वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउन साझा प्रयास गर्ने सङ्कल्प गरेका हुन् । उद्योगी, व्यवसायी र कानुनी क्षेत्रका विज्ञहरू सहभागी भएको कार्यक्रममा कार्यस्थलमा हुने हरेक प्रकारका दुर्व्यवहारलाई निरुत्साहित गर्न ‘साझा कार्ययोजना’ निर्माण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कानुनी उपचार र मानसिक असरको गम्भीरता
कार्यक्रममा वरिष्ठ अधिवक्ता शर्मिला श्रेष्ठले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई सामाजिक मात्र नभई गम्भीर कानुनी समस्या भएको उल्लेख गर्दै, यसका दीर्घकालीन असरहरूबारे चेतावनी दिए । उनका अनुसार यौनजन्य अश्लील शब्द बोल्ने, इच्छा विपरीत छुने, यौन प्रस्ताव राख्ने वा अश्लील अङ्ग प्रदर्शन गर्ने जस्ता क्रियाकलापले कर्मचारीको मानसिक, शारीरिक र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पार्दछ। नेपालमा यस विरुद्ध कानुनी व्यवस्थाहरू भए पनि कार्यान्वयन कमजोर रहेको बताउँदै उनले कार्यस्थलमा खटिनेहरूले स्वयंले यस्ता हर्कतको सशक्त विरोध गर्नुपर्नेमा जोड दिए ।

साझा धारणा र सचेतनाको आवश्यकता
नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले भने कार्यस्थलमा हुने शारीरिक तथा मानसिक दुर्व्यवहार न्यूनीकरण गर्न सबै क्षेत्रको साझा धारणा आवश्यक छ । महिलाहरू बढी जोखिममा भए पनि पुरुषहरू पनि यसको असरमा पर्छन् । सुरक्षित कार्य वातावरण औद्योगिक विकासको आधार हो । महासङ्घका सहायक निर्देशक हरि पौडेलले जनचेतनाको कमीका कारण व्यापारिक प्रतिष्ठानमा हिंसाका घटना हुने गरेको बताउँदै सचेतनाका कार्यक्रमहरूलाई गाउँबस्ती र उद्योगका मजदुरसम्म पुर्‍याउनुपर्ने सुझाव दिए

नीतिगत सुधार र अभियानको सार्थकता
अन्तरक्रियामा सहभागी उद्योग सञ्चालकहरूले आफ्ना कार्यक्षेत्रमा हिंसा रोक्ने आन्तरिक नीति बनाउने र कर्मचारीहरूलाई उजुरी गर्ने वातावरण सिर्जना गर्ने वाचा गरेका छन् । सहभागीहरूको एकमत थियो कि सरकारले नीति निर्माण र कानुन कार्यान्वयनमा सक्रिय भूमिका खेल्नुपर्छ र यस्ता अभियानहरू केवल औपचारिकतामा सीमित नराखी सार्थक बनाइनुपर्छ । सुर्खेतबाट सुरु भएको यो सामूहिक प्रतिबद्धताले कर्णालीका उद्योग र व्यापारिक क्षेत्रमा कार्यरत हजारौँ कर्मचारीहरूका लागि सुरक्षित र मर्यादित कार्यस्थलो सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।