सडक विस्तारमा अनियमितता

मुगु ।  सदरमुकाम क्षेत्रमा सडक विस्तार गरिए पनि केही स्थानमा साँघुरो निर्माण गरिँदा सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् । रेडक्रसदेखि न्युरोडसम्मको सडक विस्तारको जिम्मा पाएको श्रीयाँ कन्स्ट्रक्सन प्रालिले सशस्त्र प्रहरी कार्यालय नजिकको घुम्ती मोडमा साँघुरो सडक बनाएको आरोप लागेको छ । उक्त खण्डमा पश्चिमतर्फ आठ मिटर र उत्तरतर्फ मात्र छ मिटर चौडाइमा सडक निर्माण गरिएको छ । घुम्ती मोडमा पर्याप्त चौडाइ नहुँदा दुर्घटनाको जोखिम उच्च बनेको स्थानीयको भनाइ छ । यसअघि सोही स्थानमा मुगुमकार्मारोङ गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको र चालक गम्भीर घाइते भएको सशस्त्र प्रहरीका एक कर्मचारीले जानकारी दिएका छन् ।

छायानाथ रारा नगरपालिका–२ का स्थानीय प्रेमलाल बुढाका अनुसार उक्त मोडमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीका लागि अत्यधिक जोखिम छ । उनले सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनी र अनुगमन गर्ने निकायमाथि कारबाही गर्न माग गरेका छन् । सोरु गाउँपालिका–४ का चालक रमेश रोकायाले पनि मोडअगाडि सडक फराकिलो भए पनि मोडमै साँघुरो बनाउँदा दुर्घटनाको सम्भावना बढेको बताए। उनले जोखिम न्यूनीकरणका लागि डिभाइडर जस्ता संरचना राख्न सुझाव दिएका छन् ।

निर्माण कम्पनीका सञ्चालक ध्रुव शाहीले भने सशस्त्र प्रहरी कार्यालयमाथिको क्षेत्रमा जग्गा उपलब्ध नभएकाले सडक साँघुरो बनाउनुपरेको बताएका छन् । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर प्रदीप चौधरीका अनुसार नालासहित आठ मिटर चौडाइको सडक निर्माण गर्ने सम्झौता भए पनि जग्गा विवादका कारण हाल छ मिटरमा सीमित गरिएको हो । स्थानीयले सडक निर्माणमा देखिएको समस्या समाधान गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।