डोल्पा । हिमाली जिल्ला डोल्पामा एक समय सरकारी अनुदानको आकर्षणमा खुलेका उद्योगहरू अहिले क्रमशः बन्द हुन थालेका छन् । नीतिगत स्पष्टता र सहुलियत अभावका कारण स्थानीय उद्यमीहरू उद्योग सञ्चालनभन्दा खारेजीतर्फ उन्मुख भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार २८० उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा ६१ वटा नयाँ उद्योग दर्ता भए पनि केवल १५० उद्योगले नवीकरण गरेका छन् । यसै अवधिमा २३ उद्योग खारेज भएका छन् भने गत वर्षका १८ सहित कुल ४१ उद्योग बन्द भइसकेका छन् ।
कार्यालयका निमित्त प्रमुख निरज घिमिरेका अनुसार चालु वर्षमा ९ लाख ४६ हजार १६० रुपैयाँ राजस्व संकलन भएको छ । जसमा उद्योग दर्ताबाट ८ लाख ५३ हजार ४००, निवेदनबाट १९ हजार ४००, मेसिन औजार बिक्रीबाट ४२ हजार र उत्पादित वस्तु बिक्रीबाट ३१ हजार ३६० रुपैयाँ संकलन गरिएको छ । विगतमा विभिन्न सरकारी निकाय र स्थानीय तहबाट प्रदान गरिएका अनुदानका कारण उद्योग खोल्ने लहर देखिएको थियो । तर अहिले त्यस्ता कार्यक्रमहरू घट्दै गएपछि उद्यमीहरू आर्थिक भार धान्न नसकी उद्योग बन्द गर्न बाध्य भएका छन् ।
नियमित कर चुक्ता, नवीकरण शुल्क र प्रशासनिक झन्झट बढ्दै जाँदा व्यवसायीहरू निराश बन्दै गएका छन् । नीतिगत अस्थिरता र आवश्यक सहुलियतको अभावले उद्योग सञ्चालनभन्दा बन्द गर्ने अवस्था सिर्जना गरेको उद्यमीहरूको भनाइ छ । सरकारले उद्यमशीलता प्रवर्द्धनको कुरा दोहोर्याइरहे पनि व्यवहारमा सहयोगको कमी हुँदा ग्रामीण क्षेत्रका उद्योगहरू टिक्न नसक्ने अवस्था झन् चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।



कार्यविधि संवाददाता । १८ चैत्र २०८२, बुधबार १३:२५ बजे