डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत सञ्चालित फुल्चिङ खानेपानी तथा सरसफाइ योजनाको दोस्रो सार्वजनिक परीक्षण तथा स्थलगत अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ । योजना कार्यान्वयनलाई पारदर्शी, जवाफदेही र गुणस्तरीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय उपभोक्ता, जनप्रतिनिधि तथा सरोकारवालाबीच खुला छलफल र सवाल–जवाफ गरिएको थियो । सहभागीहरूले योजना निर्माण प्रक्रिया, आर्थिक पारदर्शिता तथा श्रमदान व्यवस्थापनका विषयमा चासो व्यक्त गरेका थिए ।
वास सल्लाहकार विष्णु बोहोराले समुदायमा योजनाप्रति स्पष्ट बुझाइ विकास गर्न सार्वजनिक परीक्षण आवश्यक रहेको बताए । उनले योजनाका सम्पूर्ण प्रक्रिया समुदायसमक्ष खुला राख्नु नै कार्यक्रमको मुख्य उद्देश्य भएको उल्लेख गर्नुभयो । नगर उपप्रमुख देवी घर्तीको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा संरचनाको मापन, निर्माणको गुणस्तर तथा कार्य प्रगतिबारे प्रत्यक्ष निरीक्षण गरिएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका वास संयोजक धनप्रसाद बुढाले योजनाको भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी दिँदै निर्माणका क्रममा देखिएका समस्या, आगामी कार्ययोजना, खर्च विवरण तथा खरिद प्रक्रियाबारे सार्वजनिक सुनुवाइमार्फत जानकारी गराए । उनका अनुसार योजना प्रमुख सूचकका आधारमा मूल्यांकन गरिएको हो । सामाजिक विकास समिति संयोजक तथा वडा नं. तिनका अध्यक्ष भक्तबहादुर केसीले योजनाको दीर्घकालीन दिगोपनका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले मापदण्डअनुसार पाइपलाइन निर्माण गर्न र गुणस्तरमा कमजोरी देखिए तत्काल सुधार गर्न निर्देशन दिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिश बुढाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना निर्माणको समग्र प्रगति, चुनौती र आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो । कार्यक्रममा सहभागीहरूले नियमित अनुगमन, सार्वजनिक सुनुवाइ र गुणस्तर परीक्षणमार्फत मात्रै प्रभावकारी योजना कार्यान्वयन तथा सुशासन सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा लेखा अधिकृत पूर्ण चौलागाईं, सूचना अधिकृत किरण केसी, भौतिक पूर्वाधार विकास शाखाका इन्जिनियरलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।



कार्यविधि संवाददाता । ७ जेष्ठ २०८३, बिहीबार १३:५५ बजे