हानिकारक मूल्य–मान्यता अन्त्यको प्रयास

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रथाजनित हानिकारक मूल्यमान्यता अन्त्य गर्ने प्रयास भइरहेको छ । युरोपियन युनियन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष को आर्थिक सहयोगमा सोसेक नेपालद्वारा वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत विभिन्न समुदायस्तरीय गतिविधि सञ्चालन भइरहेका छन् । कार्यक्रम अन्तर्गत परिवार संवाद, अन्तरपुस्ता संवाद तथा स्थानीय संघ–संस्थासँग लैङ्गिक हिंसा रोकथाम सम्बन्धी सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम गएको शनिबार सम्पन्न हो ।

समुदायमा विद्यमान हानिकारक मूल्य–मान्यता न्यूनीकरण गर्दै महिला, किशोरी तथा बालबालिकाको अधिकार संरक्षण, समान सहभागिता र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । यसै क्रममा धार्मिक अगुवा, जनप्रतिनिधि तथा बुद्धिजीवीहरूसँग सामाजिक हानिकारक मूल्यमान्यता अन्त्यका लागि धार्मिक अगुवा र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजमा अझै कायम रहेका अन्धविश्वास, लैङ्गिक विभेद, महिनावारीसम्बन्धी विभेद तथा हिंसाका घटनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै पास्टर कुसुम थापाले चर्चमा लैङ्गिक विभेद नहुने बताउँदै समाजमा विभेद वा हिंसाका घटना भए कानुनी उपचार खोज्न र स्वास्थ्य समस्या आए नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गर्ने गरेको बताइन् । उनले महिला तथा किशोरीमाथि हुने विभेद अन्त्यका लागि सबै समुदाय सचेत हुनुपर्नेमा जोड दिइन् । हिलेखाली स्वास्थ्य चौकीकी इन्चार्ज अनिता थापाले परम्परागत मूल्य–मान्यतामा पहिलेको तुलनामा परिवर्तन आएको उल्लेख गर्दै धामीझाँक्री तथा धार्मिक अगुवाहरूमा समेत सकारात्मक सोच विकास भइरहेको बताइन् ।

उनले धार्मिक अगुवा समाजका नेतृत्व तहमा रहेकाले अन्धविश्वास अन्त्य गर्न अग्रसर हुनुपर्ने धारणा राखिन् । महिनावारीसम्बन्धी विभेद अझै समाजमा रहेको उल्लेख गर्दै उनले यस्तो विभेद आफैंले पनि भोगेको अनुभव सुनाइन् । महिनावारीलाई अन्धविश्वाससँग जोड्न नहुने र परम्परागत धारणामा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी चक्रबहादुर योगीले आफूले झारफुक गर्ने गरेको भए पनि जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पताल जान सल्लाह दिने गरेको बताए ।

धार्मिक मान्यताको नाममा हुने विभेद वा हिंसाको पहिचान गर्न सक्नुपर्ने र हिंसापीडितको पहिचानमा धार्मिक अगुवाहरू सचेत रहनुपर्नेमा उनले जोड दिए । त्यस्तै, तान्त्रिक गुरु तथा वडा सदस्य दीपेश गिरीले धामीले स्वास्थ्य समस्याको प्रकृतिअनुसार बिरामीलाई स्वास्थ्य चौकी पठाउने गरेको बताउँदै आस्थाको विषयलाई अन्धविश्वाससँग जोड्न नहुने धारणा राखे ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष दिनेश खत्रीले समाजमा प्रभाव र विश्वास जितेका व्यक्तिहरू हानिकारक मूल्य–मान्यता अन्त्यका लागि अग्रसर हुनुपर्ने बताए । उनले दैविक शक्तिसँगै विज्ञानलाई पनि आत्मसात गर्दै समाज रूपान्तरणमा लाग्नुपर्ने धारणा व्यक्त गरे । सोसेक नेपालकी मन्जु वलीले अभियानमार्फत समुदायमा लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि हुनुका साथै परिवार तथा समुदायबीच सकारात्मक सोच र व्यवहार विकासमा सहयोग विश्वास व्यक्त गरिन ।