आधुनिक घट्ट सञ्चालनमा

हुम्ला  । हिमाली जिल्ला हुम्ला जिल्ला अन्तर्गत रहेको सर्केगार्ड गाउँपालिका तिन स्थित गुसाँ गाउँमा आधुनिक घट्ट सञ्चालनमा आएको छ । पक्की कुलो र पाइपलाइनसहित निर्माण गरिएको उक्त आधुनिक घट्ट सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । पहिले गुसाँ गाउँका बासिन्दा अन्न पिस्नका लागि लामो दूरी पार गरेर सर्केगार्ड गाउँपालिका चार  स्थित मुण्डी गाउँको नागड खोलामा रहेको परम्परागत घट्टसम्म पुग्नुपर्ने बाध्यता थियो । उक्त स्थानसम्म पुग्न करिब साढे दुई घण्टा उकालो–ओरालो पैदल यात्रा गर्नुपर्ने भएकाले विशेषगरी महिला, ज्येष्ठ नागरिक तथा किसानहरूलाई ठूलो सास्ती हुने गरेको थियो । तर अब गाउँमै आधुनिक घट्ट सञ्चालन भएपछि समय, श्रम र खर्च तीनै पक्षमा राहत मिलेको स्थानीयले बताएका छन् ।

स्थानीय दान बहादुर फडेराका अनुसार पहिले अन्न पिस्न दिनभरि समय छुट्याउनुपर्ने अवस्था थियो, तर अहिले गाउँमै सुविधा भएपछि दैनिक कामकाज सजिलो भएको छ । उनले आधुनिक घट्टले गाउँको उत्पादन प्रणाली र जीवनशैली दुवैमा सकारात्मक परिवर्तन ल्याएको  बताए ।  वडा अध्यक्ष अकिल कार्कीका अनुसार गुसाँ गाउँमा रहेको कक्र्यानी कोडेमुल थराको मुहानबाट पानी ल्याएर आधुनिक घट्ट सञ्चालन गरिएको हो । उक्त योजनाअन्तर्गत ८० मिटर लामो पक्की कुलो र एक सय  मिटर पाइपलाइन निर्माण गरिएको छ । साना संरचनाहरू भए पनि यसले गाउँको दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरेको उनकाे भनाइ छ ।

उक्त योजना साढे एक महिनाको छोटो अवधिमा सम्पन्न गरिएको हो । निर्माण कार्यमा करिब ३० घरधुरीका स्थानीय बेरोजगार नागरिकहरू स्वयं सहभागी भएका थिए । श्रममा आधारित यो परियोजनाले स्थानीयलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विनियोजित २० लाख रुपैयाँ बजेटबाट उक्त आधुनिक घट्ट निर्माण तथा सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमले स्थानीय पूर्वाधार विकाससँगै रोजगारी सिर्जनामा पनि सहयोग पुर्‍याएको जनाइएको छ । यस योजनाबाट गुसाँ गाउँका करिब दुई सय ५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

स्थानीय तहका अनुसार आधुनिक घट्ट सञ्चालन भएपछि गाउँलेहरू अब परम्परागत र कठिन बाटो प्रयोग गर्न बाध्य छैनन् । विशेषगरी कृषि उत्पादन प्रशोधनमा सहजता आएको छ, जसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पहिले साना र अस्थायी संरचनामा बजेट खर्च हुने गरेको गुनासो रहँदै आएको अवस्थामा यस पटक भने दीर्घकालीन र उपयोगी पूर्वाधार निर्माण गरिएको वडा कार्यालयको भनाइ छ । स्थानीयले पनि यस्तो परियोजनाले गाउँमै सेवा उपलब्ध गराउने भएकाले सरकारप्रति सकारात्मक धारणा बनेको बताएका छन् । स्थानीय सरकारका अनुसार भविष्यमा यस्ता योजनालाई अझ विस्तार गर्दै दुर्गम बस्तीहरूमा आधारभूत पूर्वाधार र सेवा सहज रूपमा पुर्‍याउने लक्ष्य राखिएको छ ।