सुर्खेत । बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद र सामाजिक कुरीतिविरुद्ध सचेतना र नीति बहसलाई सशक्त बनाउने उद्देश्यसहित कर्णाली छोरी सम्मेलन–२०८३ को दोस्रो संस्करण शनिबारदेखि सुर्खेतमा सुरु हुने भएको छ । श्री ज्योति फाउन्डेशनको आयोजनामा जेठ १६ र १७ गते वीरेन्द्रनगरमा आयोजना हुने उक्त सम्मेलनले बालविवाह, छाउपडी प्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार, मानव बेचबिखन तथा मर्यादित महिनावारीजस्ता संवेदनशील सामाजिक मुद्दामा व्यापक छलफल गर्ने लक्ष्य लिएको छ ।
फाउन्डेशनका अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले सम्मेलनलाई केवल छलफलको मञ्च नभई नीति परिवर्तनका लागि साझा आवाज निर्माण गर्ने प्लेटफर्मका रूपमा अघि बढाइएको बताए । सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको सहभागिता रहनेछ । यससँगै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक र यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूसमेत गरी करिब २५० भन्दा बढी सहभागी रहने फाउन्डेशनले जनाएको छ ।
आयोजकका अनुसार दुई दिने सम्मेलन अवधिभर सहभागी छोरीहरूले आफ्ना व्यक्तिगत जीवन संघर्ष, भोगाइ र अनुभवहरू प्रस्तुत गर्नेछन् । ती अनुभवहरूलाई आधार बनाएर लैङ्गिक समानता, सामाजिक न्याय र अधिकारमुखी नीति निर्माणका विषयमा बहस गरिनेछ । सम्मेलनमा विषय विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नेछन् भने विभिन्न प्यानल छलफल सत्रहरू पनि सञ्चालन गरिनेछ । बालविवाह न्यूनीकरण, छाउपडी प्रथा उन्मूलन, महिला सशक्तीकरण र सामाजिक समावेशिताजस्ता विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ । फाउन्डेशनका अध्यक्ष कटुवालका अनुसार सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझावहरूलाई तीनै तहका सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरिनेछ, जसले नीति निर्माण प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरिएको थियो । सो सम्मेलनले प्रदेशस्तरीय ‘कर्णाली छोरी सञ्जाल’ गठन गरेको थियो । त्यसपछि ७९ वटै स्थानीय तहमा पालिकास्तरीय सञ्जाल विस्तार गर्दै हालसम्म ६ सय ६९ जना छोरीहरूलाई संगठित गरिएको फाउन्डेशनले जनाएको छ । त्यसैगरी फाउन्डेशनले जाजरकोट भूकम्प प्रभावित तथा आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष १५ जना भूकम्प प्रभावित र १५ जना विपन्न छोरीलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिँदै आएको बताइएको छ ।
आयोजकले सम्मेलनलाई कर्णालीमा महिला अधिकार, सामाजिक न्याय र समावेशी विकासको बहसलाई संस्थागत गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिएको छ । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म नीतिगत ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनलाई यसपटक अझ व्यवस्थित र सहभागितामूलक बनाइएको जनाइएको छ । सामाजिक विभेद, परम्परागत कुरीति र हिंसाविरुद्ध कर्णालीका छोरीहरूको साझा आवाज बलियो बनाउने अपेक्षासहित सम्मेलन शनिबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ ।



कार्यविधि संवाददाता । १५ जेष्ठ २०८३, शुक्रबार १६:०० बजे