काफल बेच्ने महिलाप्रति नगरपालिकाको ध्यानाकर्षण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ले सिटी बसपार्क क्षेत्रमा काफल बेच्दै गरेकी महिलामाथि नगर प्रहरीले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जेष्ठ ५ गते साँझ वीरेन्द्रनगर नगर क्षेत्रभित्र सडक पेटी तथा फुटपाथ व्यवस्थापन गर्ने क्रममा वडा नं. ६ स्थित सिटी बसपार्क क्षेत्रमा उक्त घटना भएको उल्लेख गरेको छ ।

नगरपालिकाका अनुसार सो घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने निर्णय गरिएको छ । साथै पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने जनाएको छ । नगरपालिकाले सार्वजनिक स्थान व्यवस्थापनका क्रममा मानवीय संवेदनशीलता र नागरिकको सम्मानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै घटनाबारे थप आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।