सल्यानमा अवैध स्वास्थ्य क्लिनिक सिल

सल्यान ।  जिल्लकाे वनगाड कुपिण्डे नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै गैरकानुनी रूपमा सञ्चालन भइरहेका व्यवसाय तथा स्वास्थ्य सेवामाथि कडाइ सुरु गरेको छ । यही क्रममा वडा नं. सात ढोरपिपलमा सञ्चालन हुँदै आएको “विपिन स्वास्थ्य सेवा क्लिनिक” आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको पाइएपछि मंगलबार प्रहरीले मुचुल्कासहित सिल गरेको छ । नगरपालिकाले सञ्चालन गरेको नियमित बजार अनुगमनको दोस्रो दिन जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मी सम्मिलित संयुक्त टोलीले बालुवासंग्रही, ढोरपिपल, बाबियाचौर र जयतपानी बजार क्षेत्रका विभिन्न पसल, स्वास्थ्य संस्था तथा व्यवसायहरूको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, खाद्य तथा पेय पदार्थको गुणस्तर, म्याद, सरसफाइ र सेवा प्रवाहको अवस्थाबारे विस्तृत जाँच गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा ढोरपिपलस्थित उक्त स्वास्थ्य क्लिनिक आवश्यक अनुमति तथा दर्ता प्रक्रिया बिना सञ्चालन गरिएको भेटिएपछि तत्काल कारबाहीस्वरूप सिल गरिएको हो । नगरपालिकाका अनुसार स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित सेवा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गर्नु गम्भीर विषय भएकाले कडा कदम चालिएको हो ।

त्यसैगरी टोलीले दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका अन्य व्यवसायीलाई समेत सात दिनभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।  तोकिएको समयभित्र प्रक्रिया पूरा नगरे थप कारबाही गरिने चेतावनीसमेत दिइएको छ । अनुगमनका क्रममा बजार क्षेत्रमा बिक्रीका लागि राखिएका ठूलो परिमाणका म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ, मदिरा तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ । बरामद सामग्रीमा १६ लिटर खाने तेल, २३ बोतल बियर, २६ लिटर घरेलु मदिरा, ४२ पोका चाउचाउ, ४२ पिस कुरकुरे, ४० पिस चटपटे, २४ पिस फ्रुटी, १४ पोका आलु चिप्स, २८ पिस बिस्कुट, ३८ पोका सुजी र १६ प्याकेट भुजालगायतका सामग्री रहेका छन् ।

यस्तै कृषि तथा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने १७ प्रकारका एग्रोभेट औषधि तथा सामग्री र २३ प्रकारका विभिन्न औषधिजन्य सामग्रीसमेत बरामद गरी नष्ट गरिएको अनुगमन टोलीका संयोजक तथा नगरपालिकाका सूचना अधिकारी प्रमोद न्यौपानेले जानकारी दिए ।  उनका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका सामग्री बिक्री वितरण हुन नदिन नगरपालिकाले नियमित निगरानी बढाएको छ। अनुगमनमा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, विभिन्न वडाका जनप्रतिनिधि, प्रहरी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

टोलीले बजार क्षेत्रमा व्यवसायीलाई कानुनअनुसार व्यवसाय सञ्चालन गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न तथा उपभोक्तामैत्री सेवा दिन आग्रह गरेको छ । नगरपालिकाले खाद्य तथा स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा लापरबाही गर्ने, म्याद नाघेका सामग्री बिक्री गर्ने तथा कानुनी प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ। साथै उपभोक्ताको स्वास्थ्य सुरक्षा, बजार व्यवस्थापन र गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी दिनमा पनि नियमित तथा कडा अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।