विश्व वातावरण दिवसको अवसरमा दैलेखमा वृक्षारोपण तथा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ । “प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि” भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय दैलेखको आयोजनामा उक्त दिवस मनाइएको हो ।
डिभिजन वन कार्यालय परिसरलाई हरियालीयुक्त बनाउने उद्देश्यले सल्ला, लगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा बढ्दै गएको अवस्थामा वातावरण संरक्षण, वन सम्पदाको संवद्र्धन तथा हरित वातावरण निर्माणका लागि वृक्षारोपणलाई प्रभावकारी माध्यमका रूपमा लिइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणलाई पनि उत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिए । मानव जातिको महत्त्वाकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण आज प्रमुख चुनौती बनेको उनको भनाइ थियो ।
यस्तै, जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले वन विनाशले निम्त्याउने विपद्को जोखिमप्रति सबै सचेत रहनुपर्ने बताए । उनले विकास निर्माणका कार्य गर्दा वातावरणीय पक्षलाई अनिवार्य रूपमा प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
डिभिजन वन कार्यालयका प्रमुख अम्मर शाहले विश्व वातावरण दिवस केवल औपचारिक रूपमा मनाउने दिन मात्र नभई वातावरण संरक्षणप्रति सबैलाई जिम्मेवार बनाउने अवसर भएको उल्लेख गरे । वन क्षेत्रको संरक्षण, हरियाली विस्तार र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण महत्त्वपूर्ण उपाय भएको उनको भनाइ थियो ।


कार्यविधि संवाददाता । २२ जेष्ठ २०८३, शुक्रबार २०:०८ बजे