एकै दिन थपिए १४ सय ४६ संक्रमित, २ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ४२९ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये पीसीआर परीक्षणबाट एक हजा ३५७ र एन्टिजेन परीक्षणबाट ८९ जना पहिचान भएका हुन्। गत २४ घण्टामा आठ हजार ९६५ पीसीआर र दुई हजार ४६४ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

थपिएका संक्रमितमध्ये ८७६ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा औसतमा संक्रमणदर १५.१ प्रतिशत पुगेको छ।

पछिल्लो २४ घण्टामा २५५ जना संक्रमित निको हुँदा २ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्।