यस वर्षकाे एसईईमा कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थी सहभागी हुँदै

यस वर्ष गत वर्षकाे भन्दा १४ सय २५ परीक्षार्थि बढीले परीक्षा दिँदै

यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी शुक्रबार १७ गते  बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।

उक्त परीक्षामा कर्णालीबाट ३८  हजार ९ सय ७०  जना विद्यार्थीहरु सहभागि हुँदैछन् । परीक्षामा साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । यस वर्ष गत वर्षकाे भन्दा १४ सय २५ परीक्षार्थि बढीले परीक्षा दिँदै छन् ।

परीक्षामा १सय ७९  परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास  निर्देशनालयले जनाएको छ । साधारणतर्फ ३६ हजार ७५५ र प्राविधिकतर्फ एक हजार १४५ सहित  ३७ हजार ९सय  नियमित परिक्षामा र  ग्रेड वृद्धितर्फ एक हजार ७० जनाले परीक्षा दिँदै छन्  ।

संघीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो । तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ ।

हिमाली जिल्ला हुम्लामा एक हजार २३४ जना विद्यार्थी ६ वटा केन्द्र, मुगुमा एक हजार ६ सय ६६  जना विद्यार्थी ७ वटा केन्द्र,  जुम्लामा दुई हजार ८७७ जना विद्यार्थी र १७ परीक्षा केन्द्र, कालिकोटमा ३ हजार ७६६ विद्यार्थी र २१ वटा परीक्षा केन्द्र , दैलेख ५  हजार ७३५ विद्यार्थी २४ केन्द्र रहेका छन् ।

यस्तै सुर्खेतमा सबैभन्दा बढी  ९ हजार १३९ जना विद्यार्थी र ३२ वटा परीक्षा केन्द्र , सल्यानमा ४ हजार ९८३ जना विद्यार्थी र २५ वटा परीक्षा केन्द्र ,रुकुमपश्चिमका २३ वटा परीक्षा केन्द्रमा चार हजार २१६  जना विद्यार्थी छन् भने  सबै भन्दा कम  डोल्पामा ६सय ९८ जना विद्यार्थी र ४ केन्द्र रहेकाे शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी लाेक प्रसाद पाैडेलले बताए ।

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका नयाँ बाटो खुला हुने भएकाले एसईईलाई पनि उत्तिकै महत्त्व दिने गरिएको छ ।