विशेष कार्यविधि संवाददाता
सुर्खेत । कर्णाली प्रदेशका १८ जना शिक्षकले उड्वायज् स्काउट माष्टरको तालिम लिएका छन् । २५ औं उड्वायज् स्काउट कोर्षकाे तालिम वीरेन्द्रनगर -१० श्री गंगामाला आधारभूत विद्यालय पिपिरामा सम्पन्न भएको साेही विद्यालयका स्काउट शिक्षक हेम प्रकाश वास्काेटाले जानकारी दिएका छन् ।
संघिय सरकारकाे आर्थिक सहयोग र प्रदेश स्काउट समितिको आयोजनामा कर्णाली प्रदेश भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षकहरूका लागि संचालन गरिएको ६ रात,७ दिनको आवासीय उड्वायज् स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएका छन् ।
तालिमको समापन समारोहका प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक शिव बहादुर भण्डारीले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले उड्वायज् स्काउट माष्टरको तालिममा बिशेष जोड दिएको बताए ।
त्यस्तै, नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक तथा कर्णाली प्रदेश सल्लाहाकार पूर्व शिक्षक खगेश्वर गाैतमले तालिमबाट कुशल प्रशिक्षक उत्पादन भएको बताउदै आगामी आर्थिक बर्षमा बिद्यालयहरुमा स्काउट ट्रुप नयाँ तरिकाले संचालन गर्ने योजना रहेको बताए ।
तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यसकाे फाइदा ,क्याम्प फायरको महत्व ,गाठो, डोरीको प्रयोग ,सामाजिक परोपकारका काममा ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सीप सिकाइएको थियो ।
तालिमको प्रशिक्षणमा राष्ट्रिय प्रशिक्षक द्धय बिरेन्द्र ध्वज तथा सहजीकरण दान बहादुर आेलि र साेनिस सुवालकाे टोलीले गरेकाे स्काउट शिक्षक वास्काेटाले कार्यविधि डट कमलाई बताएका छन् ।
कार्यविधि संवाददाता । २७ चैत्र २०७९, सोमबार १५:५२ बजे