नयाँ वर्ष मनाउन भारत कालापहाडबाट घर आउन थालेका सुर्खेतका चार जना नेपाली कामदार बाटोमै लुटिएका छन् ।
गत सोमबार हल्द्वानीबाट घर फर्किन लागेका सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली सहित चार जना लुटिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएकाे छ ।
यात्राका क्रममा भारतमै लुटिएका उनीहरुबाट ४५ हजार भारु र चार थान मोबाइल लुटिएको प्रहरीले जनाएको छ ।
भारत उत्तराखण्डको हल्द्वानीमा दुई महिलाले चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ पीडीतहरु लुटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाले बताए ।
‘चारै जना सीमा क्षेत्रमा बेहोस अवस्थामा भेटिएका हुन्,’ प्रमुख एसपी थापाले भने, ‘सबैजना रित्तो हात नाकामा आइपुगेका थिए ।’ उनीहरुलाई प्रहरीले उद्धार गरेर महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेको हो । अस्पतालमा उपचारपछि मंगलबार निको भएर उनीहरु सुर्खेत घरतर्फ लागेका छन् ।
कार्यविधि संवाददाता । २८ चैत्र २०७९, मंगलवार १६:५३ बजे