Skip to content
यस वर्षको एसईई परीक्षामा ड्राइभरकाे छाेराले जिल्लामै सर्वोत्कृष्ट ‘४ जीपीए’ ल्याएका छन् ।
डिभिजन वन कार्यालय, बाराका सवारी चालक देवनाथ राय यादवका छोरा राहुल राय यादवले सर्वोत्कृष्ट ‘४ जीपीए’ ल्याए ।
देशभरका १८६ जना विद्यार्थीभित्र यादवका छोरा राहुल बारा जिल्लाकै एक मात्र विद्यार्थी हुन् ।
छोराको पढाइ राम्रो हुनुमा विद्यालय र घरको वातावरण राम्रो भएको देवनाथले बताए ।
‘करोडपति, अर्बपतिका छोराछोरीले ल्याउन नसकेको नतिजा आज मजस्तो सवारी चालकको छोराले ल्याएको छ, धेरै खुसी छु,’ देवनाथले भने । अब छोराको इच्छाअनुसारको विषय पढाउने उनको योजना छ ।
ब्राईटर एकेडेमी सिमरामा अध्यनरत राहुल विद्यालय समयबाहेक बिहान बेलुका अतिरिक्त्त कक्षामा सहभागी हुने गर्दथे ।
राहुलले ४ जीपीए आउनु मात्रै राम्रो हो भन्ने सोच राख्न नहुने पनि प्रस्ट पारे ।
‘व्यवहार राम्रो भएपछि थोरै जीपीए आए पनि जीवनमा सफल हुन सकिन्छ,’ उनले भने । एउटा परीक्षाले मात्रै जीवनको भविष्यको निर्णय नगर्ने उनको भनाइ छ ।
कार्यविधि संवाददाता । २४ बैशाख २०८१, सोमबार १२:१५ बजे