Skip to content
शीतलहरसँगै चिसो हावा र हुस्सुले अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा दाउरा वितरण सुरु गरेको छ ।
सर्वसाधारणको बढी भीड हुने र आवतजावत हुने चोक तथा सार्वजनिक स्थानहरुमा नगरले दाउरा वितरण गरेको हो । चिसो अत्यधिक भएपछि आवतजावत गर्ने नागरिक र ज्यालादारी काम गर्ने मजदुरहरु बढी लाभान्वित हुने नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
नगर प्रमुख आचार्यका अनुशार बुधबार पहिलो दिन २५ स्थानमा दुई चट्टा दाउरा वितरण गरिएको हाे ।
नगरले दाउरा वितरण गरेपछि आवतजावत गर्ने नागरिक र मजदुर अझ बढी लाभान्वित भएका छन् । ई–रिक्सा चलाउने रिक्सा चालक पनि यसबाट बढी लाभान्वित भए । ‘बिहानैदेखि दुई÷चार पैसाका लागि रिक्सा लिएर सडकमा आउँछौं,’ रिक्सा चालक कपिल खड्काले भने, ‘दिनभरि रिक्सा चलाउँदा अत्यधिक चिसो हुन्छ ।
अझ बढी हातमा बढी चिसो हुन्छ । न्यानाेका लागि घर पनि जान सकिँदैन । नगरले ठाउँठाउँमा दाउरा वितरण गरेपछि चोकचोक गएर आगो ताप्न पाइएको छ । जसले रिक्सा चलाउन अझ बढी सहज भएको छ ।’
सोमबार साँझदेखि बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा चिसो हावासँगै शीतलहर सुरु भएको छ । बाँकेका अन्य पालिकाले पनि सर्वसाधारणको धेरै भीडभाड हुने क्षेत्र, चोकलगायतका स्थानमा दाउरा वितरण गर्ने तयारी गरेका छन् । चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
यहाँका नागरिक चिसोबाट बच्न दाउरा, गुइँठा बालेर आगो ताप्ने गरेका छन् । नेपालभरी चिसोका कारण सहरबजारमा मान्छेको चहलपहल कम देखिएको छ ।
कार्यविधि संवाददाता । २३ पुष २०८१, बुधबार १९:४३ बजे