वीरेन्द्रनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब २०० जनाले सेवा लिए

सुर्खेत — सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी (SEDA), वीरेन्द्रनगर–११, सुर्खेतको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरको समन्वय सुर्खेत हस्पिटल प्रा.लि., वीरेन्द्रनगर–३ ले गरेको थियो।

विद्यालयका प्रिन्सिपल लोकेन्द्र दाहालका अनुसार उक्त शिविरबाट करिब २०० जनाभन्दा बढी स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमले विद्यालय आसपासको समुदायलाई उल्लेखनीय लाभ पुर्‍याएको उनले बताए।

शिविरमा एचए, स्टाफ नर्ससहितको स्वास्थ्यकर्मी टोलीले रक्तचाप (ब्लड प्रेसर) जाँच, सुगर परीक्षण लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरेको थियो। साथै विशेषज्ञ चिकित्सकद्वारा स्त्री रोग, बाल रोग तथा सामान्य स्वास्थ्य परीक्षण (जनरल चेकअप) सेवा समेत उपलब्ध गराइएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सहज पहुँच नभएका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।