अपांगता परीक्षण घुम्ती शिविर : १ सय ६ जनाले पाए निःशुल्क स्वास्थ्य सेवा

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गरिएको शारीरिक अपांगता परीक्षण घुम्ती शिविर मार्फत १ सय ६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रको आयोजनामा तथा डुङ्गेश्वर गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा बि.एन.बि हस्पिटल, सोसेक नेपाल र एभरेष्ट क्लब दैलेखको साझेदारी शिविर भएको थियो ।

शिविरमा आगोले पोलेर अंग टाँसिएका, खुट्टा लुला वा कमजोर भएका, हड्डी भाँचिएर बांगिएका, जोर्नी तथा घुँडामा समस्या भएका, ढाड बांगो वा कुप्रो भएका तथा जोर्नी दुख्ने वा सुन्निने समस्या भएका व्यक्तिहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिएको डुङ्गेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लछमन खत्रीले जानकारी दिए ।

त्यस्तै, हड्डी पाकेर लामो समयदेखि पीप आउने, औँला टाँसिएका वा बढी भएका, कृत्रिम हातखुट्टाको आवश्यकता भएका, हड्डीको टिबी रोग लागेका, शरीरका जोर्नी बांगिएका तथा ओठ–तालु फाटेका व्यक्तिहरूको पनि परीक्षण गरिएको उनले बताए ।
शिविरमा नाक, कान तथा घाँटी सम्बन्धी समस्या भएका २७ जनाको परीक्षण गरिएको थियो भने मनोसामाजिक समस्या भएका १० जनालाई काउन्सिलिङ तथा परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख खत्रीले बताए ।

कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रका होमराज केसीका अनुसार शिविरमार्फत ८ जना अपांगता भएका व्यक्तिहरूलाई बैसाखी, ह्विलचियर, स्टिक, वाकर, लौरो र एल्बो क्रचलगायतका सहायक सामग्री निःशुल्क वितरण गरिएको छ । साथै ६ जना अपांगता भएका बालबालिका तथा नाक, कान र घाँटी सम्बन्धी समस्या देखिएका ९ जनालाई थप उपचार तथा पुनर्स्थापनाका लागि सुर्खेत रिफर गरिएको उनले जानकारी दिए ।

शिविरमा सहभागी सेवाग्राहीलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुन्दरकुमार के.सी.ले अपांगता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अपांगता भएका व्यक्तिहरूको पहिचान, उपचार र पुनर्स्थापनामा स्थानीय सरकारले आवश्यक सहयोग जारी राख्ने बताए ।
गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले उपचारका लागि बाहिर जाँदा धेरै खर्च हुने भएकाले नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले गाउँमै शिविर सञ्चालन गरिएको बताइन् ।

घरदैलोमै विशेषज्ञ सेवा पाएपछि स्थानीय सेवाग्राहीहरू खुसी भएका छन् । डुङ्गेश्वर गाउँपालिका ३ की पुनम मल्लले आर्थिक अभाव र अनलाइन सेवाको पहुँच नहुँदा उपचारमा समस्या भइरहेको अवस्थामा गाउँमै यस्तो सेवा पाउँदा निकै सहज भएको बताइन् ।