काठमाडौं – बजार निरन्तर बढ्दा नेप्सेको पिई रेशियो ४० गुणा नजिक पुगेको छ। अन्तराष्ट्रिय स्टक एक्चेञ्जहरुसँगको तुलनामा नेप्सेको पिई रेशियो धेरै देखिएको छ ।
मेरो लगानीले अन्य देशहरुको १३ वटा स्टक एक्चेजहरुको पिई रेशियोसँग नेपाल स्टक एक्सचेञ्जको पिई रेशियो तुलना गर्दा नेप्सेको पिई रेशियो धेरै देखिएको हो । ब्लुमबर्गको तथ्याँक अनुसार १२ वटा स्टक एक्सचेञ्जको पिई रेशियो संकलन गर्दा न्यसनतम १० गुणादेखि अधिकतम ३४ गुणा सम्म रहेको देखिएको छ ।
छिमेकी राष्ट्र भारको बिएसई सेन्सेक्सको पिई रेशियो २९ गुणा रहेको देखिएको छ । सेन्सेक्स बढेर ६० हजारको विन्दुमा पुग्दा सेन्सेक्सको पिई ३० गुणा नजिक देखिएको छ । नासड्याकको पिई रेशियो सबैभन्दा धेरै ३३.९६ गुणा रहेको छ भने हाङसेनको पिई रेशियो सबैभन्दा कम १०.३१ गुणा रहेको छ ।
यस्तै लन्डन स्टक एक्सचेञ्जको पिई रेशियो १२.८३ गुणा रहेको छ भने ड्उ जोन्को १२.८३ गुणा रहेको छ । यस्तै निक्की २२५ को १५.४२ गुणा, एस एण्ड पि ५०० को २५.९२ गुणा, निफ्टी ५० को २५.७१ गुणा, एस एण्ड पिरएएसएक्स २०० को २३.८५ गुणा, एनवाई एसई कम्पोजिट इन्डेक्सको २२.७५ गुणा, ड्याक्स इन्डेक्सको १७.७९ गुणा, एफटिएसई १०० इन्डेक्सको १९.३ गुणा र सिएसआई ३०० इन्डेक्सको १६.७५ गुणा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब १ अर्ब ४६ करोड ४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । जसमा १२ कम्पनी घाटामा देखिएका थिए । यस्तै गत मंगलबारसम्मको तथ्याँक अनुसार बजार पूँजीकरण ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस आधारमा गणना गर्दा नेप्सेको पिई रेशियो ३९.४१ गुणा पुगेको छ ।
नेप्सेको बजार पूँजीकरण गणनाको विधि अन्तराष्ट्रिय स्टक एक्चेञ्जहरुको भन्दा फरक भएकोले पनि पिई रेशियो धेरै देखिएको हो । नेप्सेले कुल बजार पूँजीकरण गणना गर्दा साधारण शेयरको मूल्यको आधारमा गर्ने गर्छ। जबकी नेप्सेमा सूचीकृत कम्पनीको कम्तीमा पनि ५१ प्रतिशत शेयर संस्थापक छन् ।
ती संस्थापक शेयरको मूल्य साधारण शेयर भन्दा ५० देखि ८० प्रतिशत भन्दा कम मूल्यमा कारोबार हुने गर्छन् । त्यस आधारमा पनि ती सबै शेयरलाई बजार मूल्यकै आधारमा गणना गर्दा उक्त पिई रेसियो देखिएको हो। जुन वैज्ञानिक छैन । संस्थापक शेयर र सर्वसाधारण शेयरको मूल्य अनुसार कम्पनीको नाफालाई हिसाब गर्ने हो भने अनुमानित ५० प्रतिशतसम्म पिई रेसियो कम हुन सक्छ ।
तर अहिलेको उपलब्ध रहेको बजार पूँजीकरण र गत वर्षको चौथो त्रैमासमा कम्पनीहरुले कमाएको नाफाको आधारमा हेर्दा नेप्सेको पिई अन्य देशका स्टक एक्सचेञ्जहरुको तुलनामा धेरै देखिएको छ । मेरो लगानी
कार्यविधि संवाददाता । २२ कार्तिक २०७८, सोमबार ०८:४८ बजे