सल्यान । सल्यानको दार्मा गाउँपालिका–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा सिसिटिभी क्यामरा जडान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सुरक्षा र अनुशासन सुधार गर्ने उद्देश्यले क्यामरा स्थापना गरिएको हो । स्थानीय समाजसेवी तथा बीमा क्षेत्रसँग आबद्ध भरत रोकाय र राजेश कुमार घर्तीले संयुक्त रूपमा क्यामरा सहयोग गरेका हुन् । उनीहरूको सहयोगमा विद्यालय परिसरमा जडान गरिएको सिसिटिभीले विद्यार्थीहरूको गतिविधि निगरानीमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
विद्यालय प्रशासनका अनुसार, क्यामराले सुरक्षा व्यवस्था मजबुत बनाउनुका साथै विद्यार्थी, शिक्षक र अभिभावकबीच जिम्मेवारी र विश्वासको वातावरण सिर्जना गर्नेछ । यसबाट समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । क्यामरा हस्तान्तरण कार्यक्रममा सहयोगदाता भरत रोकायलाई विद्यालयले सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र परियार र प्रधानाध्यापक देवेन्द्र चन्दले दोसल्ला र प्रशंसा पत्रमार्फत सम्मान व्यक्त गरेका थिए ।
सम्मान ग्रहण गर्दै रोकायले जन्मस्थानको शिक्षा क्षेत्रमा योगदान दिन पाउँदा खुशी लागेको बताए र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता सहयोगले ग्रामीण क्षेत्रमा शिक्षा सुधार र प्रविधिको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।



कार्यविधि संवाददाता । १८ चैत्र २०८२, बुधबार १२:०३ बजे