हुम्ला । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा रहेको जिल्ला अस्पताल चिकित्सक अभावका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बिरामीहरूले गम्भीर सास्ती भोग्न बाध्य भएका छन् । सदरमुकाम सिमकोटस्थित अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा सामान्यदेखि जटिल बिरामीसमेत अन्य जिल्लामा रेफर गर्नुपर्ने अवस्था सिर्जना भएको छ । केही दिनअघि चङ्खेली गाउँपालिका–२ का अक नेपाली भिरबाट लडेर गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएका थिए । तर अस्पतालले उपचार सम्भव नभएको भन्दै सुर्खेत रेफर गरेपछि विमानस्थलमै उनको निधन भएको घटनाले अवस्था झन् गम्भीर देखाएको छ ।
यस्तै, चङ्खेली गाउँपालिका–४ की बासना शाही र सिमकोट गाउँपालिका–४ की अस्मिता बुढा (लामा) लाई सुत्केरीका लागि अस्पताल ल्याइए पनि उपचार नपाएर प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । सिमकोट–५ की बेलु रोकायाले पनि आफ्ना बालकको उपचारका लागि अस्पताल पुगेको बेला चिकित्सक नपाएको गुनासो गरेकी छन् । १५ शय्याको यस अस्पतालमा विशेषज्ञ चिकित्सकका दरबन्दी भए पनि पदपूर्ति नहुँदा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ । अस्पताल प्रमुख डा. उमाकान्त तिवारीका अनुसार नवौँ तहका तीन विशेषज्ञ चिकित्सक—स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी तथा हाडजोर्नी/नसा सम्बन्धी—का सबै पद हाल रिक्त छन् ।
त्यस्तै चार जना मेडिकल अधिकृतमध्ये पनि सबै जना कार्यरत छैनन्। केही बिदामा र केही अनुपस्थित हुँदा अस्पतालमा चिकित्सकको अभाव झन् चर्किएको छ । हाल एक जना स्वयंसेवी र दुई जना करारका चिकित्सकको भरमा सेवा सञ्चालन भइरहेको छ । डा. तिवारीले विशेषज्ञ चिकित्सक दुर्गम क्षेत्रमा आउन नमान्दा समस्या जटिल बन्दै गएको बताउँदै सीमित जनशक्तिबाट आपतकालीन, प्रयोगशाला, एक्स-रे तथा सुत्केरी सेवा जोगाउँदै आएको जानकारी दिए ।



कार्यविधि संवाददाता । १९ चैत्र २०८२, बिहीबार १०:५५ बजे