खेलकुद ऐन संशोधनमा छलफल सुरु

सुर्खेत ।  कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति हिउँदे अधिवेशन सम्पन्न भएको छोटो समयमै पुनः सक्रिय बन्न थालेको छ । समितिले विभिन्न विधेयक र समसामयिक विषयमा छलफल अघि बढाएको हो । बुधबार समितिले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल सुरु गरेको छ । उक्त विधेयक चैत १५ गते बसेको प्रदेशसभाको बैठकले थप अध्ययनका लागि समितिमा पठाएको थियो ।

सामाजिक विकास समितिका सदस्य सचिव तथा प्रदेशसभा सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार विधेयकमाथि ११ जना प्रदेशसभा सदस्यहरूले संशोधन प्रस्ताव दर्ता गरेका छन् । संशोधन प्रस्तावकर्ताहरू अधिकांश गृह जिल्ला गएकाले विस्तृत छलफल बैशाखको दोस्रो साताबाट सुरु गर्ने कार्यतालिका तय गरिएको छ । उनले संशोधनकर्ताहरू समयअघि नै प्रदेश राजधानी फर्किएमा जुनसुकै समयमा पनि छलफल अगाडि बढाउन सकिने जानकारी  दिए ।

यसैबीच, समितिले प्रदेश अस्पतालको प्रयोगशाला सम्बन्धी विषयमा पनि छलफल गरेको छ । प्रदेशसभा सदस्यहरूले अघिल्लो अधिवेशनमा प्रदेश अस्पतालका कर्मचारीको मिलेमतोमा निजी क्लिनिकका ल्याब परीक्षण निःशुल्क रूपमा गरिएको आरोप उठाएका थिए ।  उक्त विषयमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यस्तो आरोप सत्य नभएको स्पष्ट पार्दै प्रदेश अस्पतालमा निजी अस्पतालका परीक्षण नगरिएको जानकारी दिए ।