सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा अपेक्षित प्रगति हुन नसक्दा पुनः ढिलाइ भएको छ । पटक–पटक म्याद थप गर्दा पनि आयोजना अझै अधुरै रहेको छ । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि तोकिएको समयसीमा अनुसार काम अघि बढ्न नसकेको हो। आयोजनाको सिभिल वर्कतर्फको कामका लागि निर्माण कम्पनीलाई चैत २० गतेसम्मको समय दिइएको थियो तर म्याद सकिँदासम्म जम्मा ५७ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७१/७२ बाट सुरु भएको यो आयोजनालाई सुरुमा २०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । समयमै काम नसकिएपछि म्याद थपिँदै आएको छ र जिम्मेवारी २०८२/८३ सम्म सारिएको थियो । तर सो अवधिमा पनि काम पूरा हुन सकेको छैन । कोरोना महामारी, प्रक्रियागत जटिलता, प्रतिकूल मौसम र सामग्री ढुवानीमा ढिलाइ जस्ता कारणले निर्माण प्रभावित भएको आयोजना पक्षले जनाएको छ। आयोजनाको लक्ष्य अनुसार भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने योजना रहेको छ ।
पहिलो चरणअन्तर्गत सुरुङ निर्माण २०७५ मै सम्पन्न भइसकेको थियो भने दोस्रो चरणअन्तर्गत बाँध र विद्युत्गृह निर्माण कार्य जारी छ । दोस्रो चरणका लागि २०७६ साउनमा चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । आयोजनाका निर्देशक हरिदत्त पौडेलका अनुसार हालसम्म ५७ प्रतिशत काम सम्पन्न भएको छ र पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ । निर्माण कम्पनीले थप ४० महिनाको समय माग गरेको छ । विशेषतः चिनियाँ साझेदार कम्पनी सक्रिय नभएकाले कामको गति सुस्त भएको बताइएको छ । बाँध, पुल तथा हात्तीखालस्थित विद्युत्गृह निर्माण कार्य अझै बाँकी रहेको छ ।
हाल आयोजनामा सिभिल, इलेक्ट्रिकल र हाइड्रो–इलेक्ट्रिकल गरी तीन प्रकारका काम भइरहेका छन् । सिभिल वर्कमा ढिलाइ हुँदा अन्य कामहरू पनि प्रभावित भइरहेका छन् । यो आयोजना नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरी निर्माण गरिएको हो । भेरी नदीको पानी १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको निर्माण २०८७/८८ सम्म सम्पन्न गर्ने योजना रहेको छ ।



कार्यविधि संवाददाता । २२ चैत्र २०८२, आईतवार ०९:१८ बजे