बैतडी । जिल्लाका सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको छ । सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै विभिन्न कार्यालयहरूले सेवा प्रवाहमा सुधार ल्याउन थालेका छन् । विगतमा सामान्य कामका लागि पनि लामो समय कुर्नुपर्ने अवस्था रहे पनि अहिले सेवा छिटो, छरितो र सरल रूपमा उपलब्ध हुन थालेको सेवाग्राहीले बताएका छन् । स्थानीय तहदेखि जिल्लास्तरीय कार्यालयसम्म सेवा प्रवाहमा प्रभावकारिता बढ्दै गएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक सेवा पूर्ण रूपमा बिचौलियामुक्त बनाउन पहल तीव्र पारेको जनाएको छ ।
प्रशासनले जारी गरेको सूचनामा सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्य भएमा कडा कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ । जिल्लास्थित सबै कार्यालयहरूलाई सेवा बिचौलियामुक्त बनाउन आग्रह गरिएको छ भने सेवा प्रवाहलाई अझ प्रभावकारी, छिटो र सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइएको छ ।
स्थानीय स्तरमै सेवा निःशुल्क र सहज रूपमा उपलब्ध हुन थालेपछि सेवाग्राहीले समय र खर्च दुवै बचत गर्न सकेका छन् । यसबाट विशेषगरी ग्रामीण क्षेत्रका नागरिक लाभान्वित भएका छन् । सरकारी सेवा प्रणालीमा आएको यस सुधारले पारदर्शिता अभिवृद्धि गर्नुका साथै सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।



कार्यविधि संवाददाता । २२ चैत्र २०८२, आईतवार १५:४९ बजे