भूतपूर्व सैनिक सम्मेलन सम्पन्न, सहयोग सामग्री वितरण

रुकुमपश्चिम ।  रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणमा भूतपूर्व सैनिक सम्मेलन २०८२ सम्पन्न भएको छ । रुकुमपश्चिम र रुकुमपूर्वका भूतपूर्व सैनिकहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । श्री नं. १९ बाहिनीका सहायक बाहिनिपति अनिल उपाध्यायको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा भूतपूर्व सैनिक परिवारका अशक्त सदस्यहरूलाई सहायक सामग्री वितरण गरिएको छ। यस क्रममा चार जना परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

चण्डीदल गणका अनुसार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ निवासी भूतपूर्व सैनिक हरिबहादुर पुन, रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ निवासी तिलकबहादुर शाहका छोरा महेन्द्र शाह, सोही क्षेत्रका मानबहादुर बोहरा र पुथा उत्तरगंगा गाउँपालिका–१२ निवासी चंखबहादुर बुढा मगरका छोरा मोनिकर्ण बुढा मगरलाई सामग्री प्रदान गरिएको हो । उनीहरूलाई क्रमशः एल्बो क्रचेज, ह्विलचेयर, बैशाखी र सेतो छडी उपलब्ध गराइएको छ । सम्मेलनमा रुकुमपश्चिमका ७९ र रुकुमपूर्वका २४ गरी कुल १०३ जना भूतपूर्व सैनिकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई सम्झनास्वरूप टोपी, मफलर, झोला र मण्डी प्रदान गरिएको थियो भने पेन्सन लिइरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूलाई भ्रमण भत्तासहित बिदाइ गरिएको छ । सम्मेलनका क्रममा सहायक बाहिनिपति अनिल उपाध्याय, चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ र भूतपूर्व सैनिकहरूबीच अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा उपाध्यायले नेपाली सेनाको इतिहास, वर्तमान अवस्था र भूतपूर्व सैनिकहरूको योगदानबारे चर्चा गरेका थिए ।