सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ५२ जनाले हराउँदै गएको दृष्टि पुनः प्राप्त गरेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरले धेरैलाई नयाँ आशा दिएको छद । शिविरमा ३ सय ७२ जनाको आँखा परीक्षण गरिएकोमा ५२ जनामा मोतिबिन्दु पहिचान भई निःशुल्क शल्यक्रिया गरिएको कालीमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापाले जानकारी दिए । शल्यक्रिया गराइएकामध्ये २३ जना पुरुष र २९ जना महिला रहेका छन् । परीक्षण गरिएकामध्ये २ सय ४५ पुरुष र १ सय २७ महिला थिए ।
कालीमाटी गाउँपालिकाको समन्वयमा नेपाल नेत्रज्योति सङ्घको आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी कालीमाटी, रामपुरमा शिविर सञ्चालन गरिएको हो । स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध भएपछि स्थानीयवासी निकै उत्साहित भएका छन् । आर्थिक अभाव र टाढाको यात्राका कारण अस्पताल पुग्न नसक्ने धेरै बिरामीलाई यस शिविरले ठूलो राहत दिएको छ ।
शिविर उद्घाटनका अवसरमा गाउँपालिका अध्यक्ष दानबहादुर केसीले स्थानीय तहको एक्लो प्रयासले सबै सेवा पुर्याउन कठिन हुने भएकाले सहकार्य आवश्यक रहेको बताए । उनले नेपाल नेत्रज्योति सङ्घसँगको साझेदारीमार्फत पालिकामै विशेषज्ञ सेवा उपलब्ध गराउन सकिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दिए । शिविरमा औषधि वितरण, परामर्श तथा अन्य आवश्यक स्वास्थ्य सेवा पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।



कार्यविधि संवाददाता । २४ चैत्र २०८२, मंगलवार ११:४८ बजे