सुर्खेत । कर्णाली प्रदेश सरकार ले आगामी वर्ष २०८३ का लागि थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह का अनुसार विभिन्न सांस्कृतिक तथा क्षेत्रीय पर्वलाई ध्यानमा राख्दै बिदा निर्धारण गरिएको हो । निर्णयअनुसार चैत १२ गते मनाइने धान दिवस तथा असोज २२ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाका अवसरमा जुम्ला जिल्लामा मात्र सार्वजनिक बिदा दिइनेछ ।
यद्यपि १५ असारको राष्ट्रिय धान दिवसका दिन भने जुम्लाबाहेक कर्णालीका अन्य नौ जिल्लामा बिदा हुनेछ । त्यसैगरी, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूची–२ मा आवश्यक हेरफेर गरी उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशन गर्ने पनि निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिए ।



कार्यविधि संवाददाता । २४ चैत्र २०८२, मंगलवार १२:४३ बजे