सिमकोट गाउँपालिकाको बजेट ८ करोडभन्दा बढीले वृद्धि

हुम्ला ।  चालु आर्थिक वर्षमा हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको वार्षिक बजेट आठ करोडभन्दा बढीले वृद्धि भएको छ । विभिन्न चार कार्यक्रमअन्तर्गत थप बजेट निकासा भएपछि गाउँपालिकाको कुल बजेट बढेको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार हिउँदे तथा वर्षे गाउँसभासम्म आइपुग्दा ८ करोड ५२ लाख ५८ हजार रुपैयाँ बजेट वृद्धि भएको छ। यसअघि गत असार १० गते सम्पन्न एघारौं गाउँसभाले ६१ करोड १२ लाख ९२४ रुपैयाँको बजेट पारित गरेको थियो । पछि थपिएको बजेटसहित बाह्रौं हिउँदे गाउँसभाले कुल ७० करोड ९९ लाख ८९ हजार ६३९ रुपैयाँको बजेट पारित गरेको छ ।

थपिएको बजेटमध्ये ७ करोड ९ लाख ८१ हजार रुपैयाँ सामाजिक सुरक्षा कार्यक्रममा विनियोजन गरिएको छ । यस्तै, गरिब घरपरिवार पहिचान कार्यक्रमका लागि ३ लाख ३१ हजार रुपैयाँ, शैक्षिक सुधार तथा भवन निर्माणका लागि ९७ लाख ५० हजार रुपैयाँ, र स्वास्थ्य पूर्वाधार विकासका लागि ३८ लाख रुपैयाँ छुट्याइएको छ । गाउँसभाले तीस वटा भौतिक पूर्वाधार योजना अनुमोदन गरेको छ । ती योजनामा भवन निर्माण, खानेपानी, सिँचाइ, सडक तथा अन्य चालु कार्यक्रमहरू समावेश छन् ।

त्यसैगरी सभाबाट चार वटा कार्यविधि पारित भएका छन् । जसमा पोषणमैत्री स्थानीय तह वडा घोषणा कार्यविधि २०८२, सिमकोट पशुस्वास्थ्य शिविर सञ्चालन कार्यविधि २०८२, लोकसेवा कक्षा सञ्चालन कार्यविधि २०८२ लगायत रहेका छन्। साथै, जनप्रतिनिधि तथा कर्मचारी उपचार कल्याण कोष सञ्चालन कार्यविधिमा संशोधन गरिएको छ । लिप्स कार्यक्रमअन्तर्गत टेन्डर आह्वानपछि बाँकी रहेको बजेटबाट सात वटा नयाँ योजना पनि तर्जुमा गरी पारित गरिएको छ । ती योजनाका लागि एक करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।