सल्यान । टिमुर उत्पादनका लागि परिचित सल्यान जिल्लाको पहिचानलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित कपुरकोटमा खुल्ला “टिमुर कप” ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । “समृद्धिका लागि वनस्पति” भन्ने मूल नाराका साथ वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको अवसरमा पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
वनस्पति विभागअन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र, सल्यानले जडीबुटीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै टिमुरमार्फत जिल्लाको पहिचान फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । प्रतियोगिता यही चैत २८ गते जीवन ज्योति माध्यमिक विद्यालयको कभर्ड हल, कपुरकोट–५ रिममा सञ्चालन हुनेछ । वनस्पति अनुसन्धान केन्द्रका प्रमुख तथा वैज्ञानिक अधिकृत डा. मित्र पाठकका अनुसार यो प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई सल्यानको पहिचानसँग जोडिएका टिमुरलगायत जडीबुटीको प्रवर्द्धन गर्ने अभियानका रूपमा समेत लिइएको छ ।
यसअघि पनि केन्द्रले वनस्पति दिवसकै अवसर पारेर दुर्लभ जडीबुटी काँकडसिंगेको संरक्षणमा सचेतना फैलाउने उद्देश्यले “काँकडसिंगे कप” प्रतियोगिता आयोजना गरेको थियो । कपुरकोट क्षेत्रका विभिन्न संघ–संस्था, कार्यालय तथा व्यवसायीहरूको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगितामा पालिकाभित्रका खेलाडीहरूको सहभागिता रहने जनाइएको छ ।



कार्यविधि संवाददाता । २६ चैत्र २०८२, बिहीबार १०:२३ बजे