तालिबानलाई बाइडेनको चेतावनी : अमेरिकी जनतालाई क्षती पुगे नतिजा भयंकर हुने

अफगानिस्तानमाथि तालिबानको कब्जापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै अफगानिस्तानको स्थितिका लागि देश छोडेर भागेका उनका नेता जिम्मेवार भएको आरोप लगाएका छन् ।

उनले भने, ‘तालिबानले तीब्र रुपमा अफगानिस्तानमा कब्जा जमाउन सक्यो किनभने त्यहाँका नेता देश छोडेर भागे र अमेरिकी सैनिकद्वारा प्रशिक्षित अफगान सैनिक उनीहरुसँग लड्न चाहेनन् । ’

उनले थपे, ‘वास्तविकता यो हो कि त्यहाँ तीब्र रुपमा स्थिति फेरियो किनभने अफगान नेताले हतियार राखिदिए र विभिन्न स्थानमा अफगान सेनाले संघर्ष बिना नै हार स्वीकार गर्यो ।’

आफ्नो निर्णयमा अडिग छुः

टेलिभिजनमा प्रत्यक्ष प्रसारित आफ्नो भाषणमा बाइडेनले आफू पूर्ण रुपमा आफ्नो निर्णयको पक्षमा भएको बताए ।

अफगानिस्तानमा तालीबानको तीब्र उदयबारे उनले भने, ‘जति सोचिएको थियो त्योभन्दा अति नै छिटो समयमा अफगानिस्तानमा स्थिति फेरिएको छ ।’

उनले भने, ‘जब अफगान आफ्नो लागि लड्न चाहँदैन भने अमेरिकी यस्तो लडाईंमा होमिनु नै पर्दैन र यसमा आफ्नो ज्यान गुमाउनु पनि पर्दैन ।’

आफ्नो निर्णय बारे बाइडेनले भने, ‘तालिबानसँग छलफल मेरा पूर्ववर्ती डोनल्ड ट्रम्पको कार्यकालमा सुरु गरिएको थियो । त्यसपछि अफगानिस्तानमा अमेरिकी सैनिकको उपस्थिति कम गरियो । एक समय अफगानिस्तानमा १५,५०० अमेरिकी सैनिक तैनाथ थिए भने सम्झौता पछि सैनिकको संख्या घटाएर २,५०० गरियो ।’

उनले भने, ‘तालिबानले मे १ सम्म अमेरिकी सैनि अफगानिस्तानबाट बाहिर निस्कन भनेको थियो । सन् २००१ पछि तालिबान अहिलेकै समयमा सबैभन्दा शक्तिशाली भएको छ ।’

‘राष्ट्रपतिको रुपमा मेरो अगाडि दुईवटा विकल्प थिए – कि त पहिल्यै गरिएको सम्झौताको पालना गर्नु वा तालिबानसँग लडाईं सुरु गर्नु । दोस्रो विकल्प छानेको खण्डमा एक पटक पुनः युद्ध सुरु हुने थियो ।’

‘अफगानिस्तानबाट निस्कनुको कुनै उचित समय थिएन’

बाइडेनले १ मे पछि अफगानिस्तानमा तालिबानसँग अमेरिकी सैनिकलाई बचाउने कुनै सम्झौता नभएको बताए ।

उनले भने, ‘अफगानिस्तानबाट आफ्नो फौज फिर्ता बोलाउनका लागि कुनै सही समय थिएन । जति सोचिएको थियो त्योभन्दा निकै तीब्र गतिमा अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिकको उपस्थिति समाप्त गरेको छ ।’

‘अशरफ गनीलाई वार्ता गर्न सुझाव दिएको थिएँ’

बाइडेनले भने, ‘अफगानिस्तानको स्थितिले ती मानिसहरुलाई दुःखी बनाएको छ जसले आफ्नो जीवनको २० वर्ष त्यहाँ भइरहेको लडाईंमा गुमाए ।’

उनले थपे, ‘मैले यो मुद्दामा लामो समयसम्म काम गरेँ र मेरा लागि यो एक प्रकारको निजी क्षती हो ।’

आफूले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीलाई संकटको राजनीतिक हल खोजीका लागि तालिबानसँग वार्ता गर्न सल्लाह दिएको बताउँदै गनीले आफ्नो सल्लाह नमानेको बाइडेनले बताए ।

उनले थपे, ‘अशरफ गनीले आवश्यकता पर्दा अफगान सैनिक तालिबानसँग लड्नेछन् भनेका थिए तर मलाई लाग्छ कि यो उनको गलत निर्णय थियो ।’

अमेरिकीमाथि हमला भए नतिजा भयंकर हुनेछः

बाइडेनले अमेरिकीमाथि हमला भएको खण्डमा नतिजा भयंकर हुने चेतावनी पनि दिएका छन् । उनले भने, ‘तालिबानलाई हामीले पहिल्यै स्पष्ट पारिसकेका छौं कि यदि अमेरिकी सैनिकमाथि हमला गरियो वा अमेरिकी अभियानमाथि असर परेको खण्डमा अमेरिकाले यसको तुरुन्त जवाफ दिने र आवश्यकता पर्दा आफ्नो पूरा शक्तिसहित अमेरिकाले आफ्ना जनताको रक्षा गर्नेछ ।’

उनले भने, ‘अफगानिस्तान संकटको आगो झेल्ने म चौथो राष्ट्रपति हुँ । म यो युद्धको आगोलाई आफूपछिका राष्ट्रपतिसम्म पुग्न दिन्नँ ।’

उनले भने, ‘हालको स्थिति देखेर दुःख लागिरहेको छ तर अफगानिस्तानको युद्धमा अमेरिकी सैनिकको भूमिका समाप्त गर्ने निर्णयमा मलाई कुनै पछुतो छैन । यो युद्ध यही समाप्त हुनुपर्छ ।’