भरतपुरमा रेनुलाई नै मेयर बनाउने प्रचण्डको प्रस्तावमा देउवा सहमत, चितवन कांग्रेसले के गर्ला ?

काठमाडौं, २९ चैत्र । सत्ता गठबन्धनमा आगामी स्थानीय तहको निर्वाचनमा कसरीअघि बढ्ने भन्नेबारे तालमेलको खाका तयार पारिरहेको छ । देशव्यापी रुपमा स्थानीय आवश्यकत्ताअनुसार तालमेल गर्ने गठबन्धनको निर्णय छ । र, सोहीअनुसार गठबन्धनका नेताहरुले संयुक्त आह्वानसमेत गरिसकेका छन् ।

हिजो बसेको गठबन्धनको बैठकमा यसअघि जुन जुन दलले जहाँ मेयर जितेको छ, त्यहाँ त्यहाँ उसैलाई छोड्ने सहमति बनेको छ । गठबन्धनमा सबैभन्दा पेचिलो बनेको भरतपुर महानगरपालिका हो । अहिले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु मेयर छिन् ।

उनी ०७४ को चुनावमा पनि कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट मेयर बनेकी हुन् । दाहालले आफूले धेरै नै राम्रो काम गरेको भन्दै एक कार्यकाल दोहोरिने बताएकी छिन् । प्रचण्डले पनि भरतपुर पुगेर रेनुले गरेका कामको प्रशंसा गर्ने गरेका छन् ।

उनले माओवादी केन्द्रले मेयर लिँदा भरतपुर नै पाउनुपर्ने अडान राखेका छन् । यसमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहमत भएको बताईएको छ । उनले गठबन्धनकै नेताहरुसँग भरतपुर महानगर माओवादीलाई दिने बताएका हुन् ।

तर, चितवन कांग्रेसले भने कुनैपनि हालतमा केन्द्रबाट लादिएको गठबन्धन नमान्ने बताउँदै आएको छ । जिल्लाका नेताहरुले केन्द्रमा आएर नेतृत्वलाई भरतपुर कुनैपनि हालतमा माओवादीलाई नछोड्न दबाब दिएका छन् ।

सभापति देउवाबाहेक अरु नेताले भरतपुर माओवादीलाई दिन नहुने मत राखेका छन् । तर, देशव्यापी रुपमा गठबन्धन गर्दा भरतपुर माओवादीलाई छोड्नुपर्ने मत कांग्रेसमा अहिले बलियो भएको छ । बाट